जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १९:४४

एमाले सुदूरपश्चिम कमिटी अध्यक्षको आग्रह : व्यवसायिकतालाई कहिल्यै ‘कम्प्रमाईज’ नगर्नुस


टेकराज भण्डारी, डडेल्धुरा, कात्तिक २२ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व मन्त्री कर्ण बहादुर थापाले पत्रकारले आफ्नो व्यवसायीकतालाई सधैं आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेश कमिटीको डडेलधुरामा भएको प्रथम रणनीतिक भेलामा बोल्दै नेता थापाले पत्राचारले जुनसुकै अवस्थामा पनि व्यवसायिकतालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘तपाईहरु व्यसायिकतालाई कहिल्यै ‘कम्प्रमाईज’ नगर्नुस्, यसका लागि हामी तपाईंलाई सहयोग गर्न तयार छौँ ।’

देशको संविधान र कानूनले दिएको अधिकार प्रयोग गरि पत्रकारहरु पनि विभिन्न संगठनमा आवद्ध हुने अधिकार भएको भन्दै नेता थापाले तर काममा सत्यता र तथ्य बिगार्ने काम गर्न नहुने बताउनुभयो । ‘तपाईं संगठनमा पनि हुनुहुन्छ, पत्रकारितामा पनि हुनुहुन्छ, यस अर्थमा तपाईंको दोहोरो जिम्मेवारी छ । यो जिम्मेवारी निष्पक्ष रुपमा निर्वाह गर्नुपर्छ ।’ उहाँले एक अर्को प्रसंगमा अहिले केन्द्र तथा प्रदेशमा जनमत विरोधि सरकार बनिरहेका आरोप समेत लगाउनुभयो ।

संघीय संसद तथा प्रदेश संसदमा अहिले पनि नेकपा ‌एमाले ठुलो दल रहेको तर प्रत्यक्षमा १ मात्रै सिट जितेको दललाई मुख्यमन्त्री दिने जस्ता संसदीय र प्रजातान्त्रिक मान्यता विपरीतका कार्य भैरहेको दाबी गर्नुभयो ।’एमाले बढारियो, सकियो भनेर प्रचार गरिएको छ । संघीय र प्रदेश सरकारबाट बाहिरियो भनिरहेका छन्, तर एमाले कुन निर्वाचनबाट बढारियो ?, कुन जनमतबाट बढारियो ?’पूर्वमन्त्री तथा एमाले नेता थापाको प्रश्न छ । पछिल्लो समय कम्युनिस्टमाथि विश्व पूँजिवाद लागिरहेको उहाँको आरोप छ ।

एमालेले आनावश्यक विवादको चरण अन्त्य गरि अघि बढीरहेको दाबी गर्दै थप लोकप्रियताका साथ अघि बढिरहेको उहाँको भनाइ छ । निजी स्वार्थका कारण पटकपटक कम्युनिस्ट आन्दोलन र एमालेमाथी आक्रमण हुने गरेको भन्दै आफ्नै नेताहरुका कारण यस्तो अवस्था आएको उहाँको भनाइ छ । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट ‘प्रतिगमनको नेतृत्व सधैं गर्न नसकिने’ बताउनुभयो ।

भेलामा बोल्दै उहाँले २०५९ सालमा राजदरबारमा प्रजातान्त्र बुझाएर प्रतिगमनको मतियार बनेका शेर बहादुर देउवा अहिले फेरि प्रतिगमनको नेतृत्व गरिरहेको आरोप लगाउनुभयो । स्थायित्वलाई क्षतविक्षत पारेर, गठबन्धनका नाममा मिली मिलि राज्यकोषको दोहन गर्ने, ६÷६ महिनामा मुख्यमन्त्री फेर्दै अस्थिरता निम्त्याउने खेल भैरहेको उहाँको भनाइ छ । पूर्व प्रधानमन्त्री केपी ओली सरकारले शेरबहादुर देउवाको गाउँमा जाने बाटोको लागि छुट्याइएको योजना समेत देउवा सरकारले कटौति गरेको उहाँले औंल्याउनुभयो ।

सुदूरपश्चिमका पत्रकारका समस्यालाई केही सम्बोधन गरेको भन्दै भनेजस्तो गर्न नसकेकोमा क्षमा समेत माग्नुभयो । आगामी दिनमा आफुले सकेजति काम गर्ने उहाँको भनाइ छ । प्रदेश कमिटी संयोजक कृष्ण ओलीको अध्यक्षतामा भएको भेलामा सुदूरपश्चिमका ९ वटै जिल्लाका पत्रकारहरुको सहभागीता रहेको छ । भेलाबाट प्रदेश कमिटी विस्तार हुने प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सहसंयोजक करन ताम्राकारले जानकारी दिनुभयो।