जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार २१:३९

उपेन्द्र यादवको ठोकुवा – ‘संसदीय प्रणाली असफल भयो’


बुटवल, २२ कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन् । यो संसदीय प्रणालीले सांसद खरिद(बिक्रीलाई छुट दिएको भन्दै उनले यसलाई फेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सांसद खरिद–बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ ।’

जसपा रूपन्देही क्षेत्र नम्बर–१ द्वारा सोमबार रोहिणी गाउँपालिका–३ धकधईमा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको संविधान त्रुटिपूर्ण रहेको पनि औँल्याउनुभएको छ । त्रुटिपूर्ण संविधान निर्माणमा कांग्रेस र कम्युनिस्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उहाँले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटि सच्याउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष यादवले संविधान संशोधनमा कांग्रेस–कम्युनिस्ट तयार नभए आठौँ संविधान निर्माणका लागि आन्दोलन गरिने बताउनुभयो ।

‘संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दा संबोधन नभए आठौँ संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन’, यादवले थप्नुभयो । संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो,‘अहिले कायम रहेका सातवटा प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ । ’

उहाँले हालको प्रदेश संरचना अधिकारविहीन रहेको दाबी गर्नुभयो । ‘अधिकारविहीन प्रदेश सरकारमा पाँच(सात जना मन्त्री बन्दैमा र झण्डावाल गाडी चढेर हिँड्दैमा केही हुँदैन, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ’, उहाँले भन्नुभयो । अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि फेर्नुपर्ने बताउनुभयो । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यो कायम रहँदासम्म पैसावालाले मात्र निर्वाचन लड्न सक्ने भएकाले यसलाई फेर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकता विधेयक तत्काल ल्याउनुपर्ने माग समेत गर्नुभयो । धेरै मधेसी नागरिक नागरिकताविहीन भएको औँल्याउँदै नागरिकतामा भएको विभेदकारी प्रावधान सच्याउन जरुरी रहेको पनि यादवले बताउनुभयो ।