जनता टाइम्स

११ असार २०७६, बुधबार १३:५३

एकता टुंग्याउने गृहकार्यमा ओली–प्रचण्ड : अन्तिम रुप दिन भयो यस्तो सहमति


काठमाडौं, असार ११

पार्टी एकतालाई अन्तिम रुप दिने विषयमा नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच छलफल भएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविच आज विहान छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेरका विषयमा कुरा भएको बालुवाटार स्रोतले बताएको छ। यद्यपी उहाहरुविच मुख्यत पार्टी एकताकै विषयमा छलफल भएको बताइएको छ । छलफलमा पार्टी एकता हुन नदिन र परिस्थिति बिथोल्न धेरै शक्ति लागि परेकाले पार्टी एकतालाई अन्तिम रुप दिएर त्यसका विरुद्ध लड्नुपर्नेमा दुवै नेता सहमत भएका छन् ।

पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा नदेखिएका प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न तहका नेताहरूसँग बालुवाटारमै बसेर छलफल गरिरहनु भएको छ । प्रधानमन्त्रीले अहिले विभिन्न विषयमा छलफल गरिरहेको र विवाद देखिएका विषयलाई कसरी सल्टाउने भनेर परामर्श गरिरहेको बताइएको छ ।