जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १५:३६

प्रधानन्यायाधीशको राजीनामालाई लिएर हिजोसम्म एक ढिक्का न्यायाधीश आजबाट विभाजित, दुई न्यायाधीशले हेरे मुद्दा


काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् । प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश आजबाट विभाजित भएका छन् ।]

प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले आज संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गर्नुभएको छ भने अन्य न्यायाधीश इजलास गएनन् । केसी र शर्माको संयुक्त इजलासले एउटा रिट खारेज गर्ने आदेश दिएको छ भने उनीहरूको इजलासमा परेका अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका छन् । तर, अन्य न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी भएनन् ।

प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेशसमेत जारी गर्नुभएको छ ।नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि उहाँले ६ वटा मुद्दामा आदेश जारी गर्नुभएको हो । सर्वोच्चका दुई न्यायाधीश इजलास फर्किएको नभई बन्दीका रिट हेर्न मात्र इजलासमा गएको असन्तुष्ट एक न्यायाधीशले बताउनुभयो ।

तर, प्रधानन्यायाधीश सचिवालय भने आज इजलास गएका न्यायाधीशद्वय भोलिबाट निरन्तर इजलासमा जाने दावी गर्छ । ‘सवै न्यायाधीश सम्माननीयज्यू (प्रधानन्यायाधीश)सँग असन्तुष्ट भन्ने हल्लामात्र हो, उहाँसहित तीनजना न्यायाधीशले अब निरनतर सुनुवाइ गर्नुहुन्छ,’ प्रधानन्यायाधीश जबराको सचिवालयका एक अधिकारीले भन्नुभयो ।