जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १७:४१

यसकारण राखियो काठमाडौं उपत्यकाका सबै अपार्टमेण्टहरु निगरानीमा


काठमाडौं, कात्तिक २३ । काठमाडौं उपत्याका सबै अपार्टमेण्ट, सपिङमलहरु निगरानीमा परेका छन् । विदेशी नागरिकहरु विना परिचयपत्र आएर अपार्टमेण्टमा बस्ने गरेको भन्दै प्रहरीले निगरानी बढाएको हो । अवैध रुपमा विदेशी नागरिकहरु बस्न सक्ने आशंकमा अपार्टमेण्टलाई निगरानीमा राखिएको बताइएको छ । साथै ठूला सपिङमलहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।

गृह मन्त्रालयले परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर, अपार्टमेन्ट, कोठा वा फ्लाट भाडामा नदिन आग्रह गरेसँगै प्रहरी प्रधानकार्यालयले अपार्टमेण्ट र सपिङमल निगरानी गर्न मातहत प्रहरी कार्यालयलाई परिपत्र गरेको छ । सोही आधारमा अपार्टमेण्टहरु निगरानीमा परेका हुन् ।

गत हप्ता गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी नागरिकहरु परिचय लुकाई अनाधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको बुझिन आएकाले आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको थियो । मन्त्रालयले यदि पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गर्न पनि विज्ञप्तिमार्फत गृहले आग्रह गरेको थियो । गत हप्ता ११ जना अफगानी नागरिक पक्राउ परेपछि मन्त्रालयले सो आग्रह गरेको हो ।

पक्राउ परेका ११ मध्ये पाँच जनालाई सरकारले डिपोर्ट गरिसकेको छ । द्वन्दग्रस्त मुलुकका नागरिकहरु शरणार्थीका रुपमा नेपालमा आउन थालेपछि सरकार झस्किएको छ । सुरक्षा निकायले मुलुका सुरक्षा चुनौति बढेको भन्दै सरकारलाई तेस्रो मुलुकबाट आउने नागरिकलाई रोक्ने उपाय लगाउन सुझाव दिएपछि अहिले नेपाल–भारतको सीमाबाट नेपाल आउन परिचयपत्रको व्यवस्था गर्ने तयारी भएको छ ।

त्यसभन्दा अघि सरकारले काठमाडौ उपत्यकामा विदेश नागरिकको अवैध बसोबास हुनसक्ने आँकलन गर्दै निगरानी थालेको छ । ‘आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरिएको छ, शंकास्पद कोही देखिए प्रहरीलाई खबर गर्नु भनेका छौ र शंकास्पद स्थानहरुमा हाम्रो निगरानी छ’, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले भन्नुभयो । उहाँका अनुसार शहरी क्षेत्रका विदेशी नागरिकहरुको बसोबास हुने क्षेत्रलाई बढी ध्यान दिइएको छ ।

कतिपय विदेशी नागरिकहरु पर्यटक भिषामा आउने गरेको तर नेपाल आएपछि पर्यटकीय क्षेत्रमा नगई अन्तै लुकेर बसी भिषा अवधि सकिदा पनि फेला नपर्ने र धेरैपछि मात्रै भिषा नविकरण गर्न आउने गरेका भन्दै सरकारी निकायले उनीहरुको समेत विवरण तयार गरेर निगरानी गर्ने जनाएको छ । ‘ समस्यमा परेका विदेशी नागरिकहरु नेपालमा पर्यटक भिषामा आएपनि उनीहरु आलटाल गरेर नेपाल बस्ने उदेश्य समेत राखेको पाइयो त्यसकारण उनीहरुको हकमा पनि कडाई गर्नुपर्ने अवस्था आएको छ’, गृहमन्त्रालयका एक अधिकारीले भन्नुभयो । उहाँका अनुसार दक्षिणी अफ्रिकी नागरिकहरुमा यो समस्या देखिएको छ ।

नेपालमा पर्यटक भिषा लगाउन र नकिरण गर्न सहज भएकाले पनि अफ्रिकी महादेशका नागरिकहरु पर्यटक भिषामा नेपाल आउन थालेका छन् । पछिल्लो पटक नेपालमा म्यान्मारबाट रोहिग्या नागरिकहरु पनि शरणार्थीको रुपमा आउने र उनीहरुलाई शरणार्थीको कार्ड बनाइदिने गिरोह नै सक्रिय रहेकाले पनि सरकारले कडाई गर्न थालेको हो । अहिले ६ सयभन्दा बढी रोहिंग्या शरणार्थी नेपालमा रहेका छन् । उनीहरु काठमाडौको कपन क्षेत्रमा बस्दै आएका छन् ।