जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १९:१२

छुट्टाछुट्टै घटनामा संलग्न फरार दुई अभियुक्त पक्राउ


दाङ, २३ कात्तिक । दाङमा छुट्टाछुट्टै घटनामा संलग्न फरार दुई अभियुक्त पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । दाङ देउखुरी जिल्ला अदालतबाट २० वर्ष कैद फैसला भई फरार रहेका राप्ती गाउँपालिका-३ वसन्तपुरका ६४ वर्षीय झग्गु चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

२०६६ वैशाख २७ गते कर्तव्य ज्यान मुद्दामा अदालतले २० वर्ष कैद फैसला तोकिएका चौधरीलाई झन्डै १३ वर्षपछि गत शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँलाई कपिलवस्तुको बारगंगा नगरपालिका–२ लखनपारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको रिजालले बताउनुभयो । त्यसैगरी सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतबाट १० वर्ष तीन महिना १७ दिनको कैद फैसला भई फरार रहेका एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०७३ भदौ २६ गते सामूहिक जबरजस्ती करणी मुद्दामा फरार रहेका राप्ती गाउँपालिका-३ मसुरीयाका २८ वर्षीय सुभाष चौधरीलाई ५ वर्षपछि गत बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता रिजालले जानकारी दिनुभयो ।