जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार ०८:५४

छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा विकसित : ओली


काठमाडौं, कात्तिक २४ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको बताउनु भएको छ । छठ पर्वको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ । चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन,’ अध्यक्ष ओलीको शुभकामना सन्देशमा भनिएको छ ।

शुभकामना

उदाउँदो सूर्यको आराधना गर्दै मनाइँने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा खुसीयालीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तराईको मिथिला क्षेत्रमा महापर्वका रुपमा सनातनकालदेखि छठ पर्व मनाइँदै आएको छ । हाम्रा आदिग्रन्थ ऋगवेद र कतिपय पुराणहरुमा सूर्यको महिमा वर्णित छ भने प्रागैतिहासिककालदेखि दक्षिण एसियामा विशेष रुपमा सूर्यको उपासना गर्ने लोक संस्कृतिले निरन्तरता पाउँदै आएको छ । मानव समाज कृषि युगमा प्रवेश गरेपछि कृषि उत्पादनसँग सम्बन्धित परिकारसहित सूर्यको उपासना गर्ने परम्पराका रुपमा छठ पर्व सुरु भएको मानिन्छ । यस पर्वमा ब्रत बस्ने, जलाशयमा स्नान गरी बेलुकीपख प्रसादको रुपमा खीर खाने र खुवाउने चलन छ । परम्परा अनुसार साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । बितेका केही वर्षयता छठ पर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रुपमा समेत विकसित हुँदै आएको छ । चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबूत बनाउन यस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन ।

नेकपा (एमाले) ले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने संकल्प लिएको छ । सोही संकल्प अनुरुप यसअघि हाम्रो नेतृत्वको सरकारले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकमा विकास र समृद्धिको अभियानको नेतृत्व गर्यो । हामीले सिंगो देशलाई नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरायौं । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेकपा (एमाले)कोयस उद्देश्यलाई साकार पार्ने अभियानमा खडा गरिएका व्यवधान र राजनीतिक तथा समाजिक वृत्तमा परिव्याप्त नकारात्मक प्रवृत्तिहरुलाई एकतावद्ध भएर परास्त गर्ने दिशामा अघि बढ्न समेत म सबैमा आह्वान गर्दछु । यसै एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।
छठ पर्व २०७८ को अवसरमा पुनःहार्दिक शुभकामना ।

केपी शर्मा ओली
अध्यक्ष