जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार ११:३२

गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै चर्काे असन्तुष्टि, गैरसंबैधानिक रहेको प्रकाशमानको ठोकुवा


काठमाडौं, कात्तिक २४ । सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ । राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन गरिएको हो ।

तर, सोही समितिलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेको सतहमै देखिएको छ । गणेशमान सिंहको १०७औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक समन्वय समिति सरकारभन्दा माथि रहन खोजेको आरोप लगाउनु भयो ।

संविधानअनुसार समितिको ओैचित्य नरहेको बताएका उहाँले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन आवश्यक नरहेको बताउनु भयो। संविधान र प्रजातान्त्रिक विधिविपरीत संयन्त्र बनाउन नहुनेमा जोड दिँदै सिंहले भन्नुभयो, ‘अहिलेको सरकार गठबन्धनको हो । राज्यसत्ता सरकारले चलाउने हो । तर, समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छैन ।’

सरकारलाई नियन्त्रणमा राख्ने गरी संयन्त्र बनाउन नहुने पनि सिंहले बताउनु भयो । ‘ उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ । प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ सिंहले भन्नुभयो । वर्तमान राजनीतिक व्यवस्थालाई र लोकतन्त्रलाई सुनिश्चित गर्न समन्वयका लागि काम गर्न समिति बनाइएको र सोहीअनुसार काम गरेको नेता पौडेलको दाबी छ ।