जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १३:२०

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान


काठमाडौं, २४ कात्तिक । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई भारत सरकारले भारतीय सेनाध्यक्षको दर्जा प्रदान गरेको छ । आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति शर्माले भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गर्नुभएको हो ।

शर्माले मैत्रीपूर्ण सम्बन्ध बढाउन गरेको योगदान र उहाँको प्रशंसनीय सैन्य कौशल, भारतसँगको साथ लामो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्न उनको अपार योगदानको सम्मानमा मानार्थ सेनाध्यक्षको र्यांक प्रदान गरिएको भारतीय सेनाले जनाएको छ । शर्माले नेपाली सेनाको आधुनिकीकरण अभियानलाई जारी राखेकोमा पनि भारतीय सेनाले प्रशंसा गरेको छ ।

राष्ट्रपति भवनमा भारतका रक्षामन्त्री राजनाथ सिंहसहित मन्त्रीहरु, दिल्लीस्थित नेपाली राजदूतावासका कुटनीतिज्ञ, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलगायत सैन्य अधिकारी उपस्थित हुनुहुन्थ्यो । नेपाल र भारतका सेनापतिले एकअर्काको देशमा मानार्थ सेनापतिको दर्जा ग्रहण गर्ने चलन छ । यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गरिसक्नुभएको छ ।