जनता टाइम्स

२४ कार्तिक २०७८, बुधबार १७:१९

एमाले महाधिवेशनमा जनवर्गीय संगठनबाट एक लाख सहभागी हुने


काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका मात्रै एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको जनाएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने भएको छ । एमालेले चितवनको नारायणी नदी किरारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घाटन समारोह गर्ने भएको छ । यस्तै एमालेले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको उद्घाटनको दिन सहभागी गराउने भएको छ ।

एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पर्सा, धादिङ, गोरखालगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने तयारी गरेको हो । उहाँका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँक्रीसहित सहभागी हुनेछन् ।

यस्तै महाधिवेशनका लागि ३०० स्वम्सेवक परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताउनुभयो । मैदानमा सबै सहभागी नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।

बुटवल–नारायणगढ सडकखण्ड मर्मत गरिने

एमालेले चितवनमा हुने महाधिवेशनलाई ध्यानमा राखेर बुटवल–नारायणगढ सडक खण्डको मर्मत गर्न सडक विभागलाई अनुरोध गरेको छ । महाधिवेशनमा आउने प्रतिनिधिलाई सहज गराउनका लागि सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र डाइभर्सनलाई व्यवस्थित गर्नेबारे सडक विभागसँग छलफल भइरहेको एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार वुटबलबाट महाधिवेशनस्थलमा गाडीबाट साढे दुईदेखि तीन घण्टामा पुग्ने गरी सडक मर्मत गरिने छ । पुनःनिर्माण भइरहेको उक्त सडक खण्डमा अहिले ठाउँठाउँमा खाल्डाखुल्डी र ग्राबेल रहेको छ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगका १५/१५ जना गरी कूल २५५ जना निर्वाचित हुने छन् । पहिलो पटक विद्युतीय मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुने छन् ।