जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १३:०७

सर्वोच्च अदालतमै वकिल र प्रहरीबीच झडप, बार महासचिवसहित ६ जना घाइते


काठमाडौं, कात्तिक २५ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बार एशोसिएनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार ‘प्रहरीको लाठ्ठी चार्ज’ बाट उहाँहरु घाइते हुनु भएको हो । कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् । मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि अदालत परिसरमा अहिले वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको उहाँले जानकारी दिनुभयो ।

भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिनुभएको छ ।