जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १४:५५

पेट्रोलियम पदार्थको मूल्य नघटाए प्रतिकारमा उत्रने अनेरास्ववियुको चेतावनी


काठमाडौं, २५ कात्तिक । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गरिने चेतावनी दिनुभयो । विज्ञप्तीमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ ।’

विज्ञप्तीमार्फत अनेरास्ववीयुले देशैभरिका आफ्ना नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आह्वान गरेको छ । यसअघि पनि पटक–पटक अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग आग्रह गरेको थियो । विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले पेट्रोलियम पदार्थ, एलपी ग्यासको मूल्य वृद्धि तत्काल फिर्ता गर्न जोडदार माग गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलियम पदार्थमा ३ रुपैया, डिजेलमा ३ रुपैया, एल.पी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ ।’

संगठनको अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मूल्य समायोजन भन्ने वहानामा अन्र्तराष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाई आयल निगम लगायत सरकारी निकायले चुहावट नियन्त्रण एवं बोनस र भत्ता वितरणमा रोक गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानीलाई लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मूल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भिर खेद प्रकछ गर्दछ ।’ सरकारले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाए संघर्षका कार्यक्रम सार्वजनिक गर्नेसमेत अनेरास्ववियुले चेतावनी दिएको छ ।