जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १६:१६

क्रिकेट टिमको छुट्यो बंगलादेशमा जहाज, अब बसमा आउने


काठमाडौं, २५ कात्तिक । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको बंगलादेशबाट नेपाल आउने उडान छुटेको छ । नेपाली टोली आईसीसी विश्वकप क्रिकेटको एसिया छनोटको तयारीका लागि बंगलादेश भ्रमणमा गएको थियो । कोभिड–१९ प्रोटोकल पालन हुन नसकेपछि महिला टोलीले बिहिबारका लागि ढाकाबाट काठमाडौंका उडान छुटेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । कोभिडको पिसिआर रिपोर्ट नहुँदा विमानस्थलमा नेपाली टोली प्रवेश गर्न सकेन् ।

क्यानले यस विषयमा टिम व्यवस्थापकसँग औपचारिक प्रतिवेदन माग गरेको छ । हवाई उडान छुटेपछि नेपाली टोली बसबाट नेपालको यात्रा गर्ने जनाइएको छ । नेपाली टोली बिहिबार साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ । नेपाली टिमको प्रशिक्षकमा जगत टमटा रहेका छन् भने टिम व्यवस्थापक जयन्ती भट्ट हुन् । बंगलादेशमा रहँदा नेपाली टिमले प्रशिक्षणसँगै सिरिज अन्तर्गत तीन मैत्रीपूर्ण खेल समेत खेल्यो । नेपाली टिमले सिरिज जितेको थियो ।

बंगलादेशको तयारी सकेर नेपाली टिम युएई प्रस्थान गर्ने तालिका रहेको छ । छनोट प्रतियोगिता यूएईमा नोभेम्बर १९ देखि २९ गतेसम्म हुनेछ । नेपालले पहिलो खेलमा नोभेम्बर २२ मा हङकङसँग खेल्नेछ । दोस्रो खेल २३ मा भुटानसँग, तेस्रो खेलमा कुवतेविरुद्ध नोभेम्बर २५ मा खेल्नेछ । मलेसियासँग नोभेम्बर २६ मा र पाँचौ तथा अन्तिम खेलमा २८ तारिकमा यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टिम आगामी वर्ष हुने प्रतियोगिताको ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।