जनता टाइम्स

२५ कार्तिक २०७८, बिहीबार १८:५८

दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, यी हुन सर्वसम्मत चयन हुने भुगोल-महिला र दलिततर्फका प्रतिनिधि


दोलखा, कात्तिक २५ । नेकपा एमाले दोलखाले दशौं राष्ट्रिय महाधिवेशनका लागि दोलखाबाट भुगोल र दलित तर्फका महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज पार्वत गुरुङ नेतृत्वमा बनेको सहइञ्चार्ज रचना खडका र जिल्ला अध्यक्ष इश्वरचन्द्र पोखरेल सदस्य रहनुभएको समितिको लामो गृहकार्यपछि भूगोल र दलिततर्फको महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको हो ।

एमालेले कात्तिक २७ गते देशभर एकैपटक महाधिवेशन प्रतिनिधि चयनको मिति तोकेको छ । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भैपछि आज उम्मेद्वारी दर्तामा रहेका आकांक्षीबीच बैठक गरी ९ ओटै पालिकामा भूगोलतर्फ सर्वसम्मत बनाइएको हो । जसअनुसार भुगोलतर्फ भीमेश्वर नगरपालिकाबाट भरत बहादुर केसी, जिरी नगरपालिकाबाट मित्र जिरेल, तामाकोसी गाउँपालिकाबाट जिवस खड्का र मेलुङ गाउँपालिकाबाट नरबहादुर श्रेष्ठ चयन हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।

यसैगरी बैतेश्वरबाट हेमन्त चौलागाईं, शैलुङ गाउँपालिकाबाट धनबहादुर तामाङ, कालिञ्चोक गाउँपालिकाबाट बालकृष्ण शिवाकोटी, विगु गाउँपालिकाबाट ठुला थामी र गौरीशंकर गाउँपालिकाबाट सुभ शेर्पा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएकोछ । समितिका अनुसार दलिततर्फ टेक घतानी र सुन्दर विक सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । यसैगरी महिलातर्फ शान्ति पाख्रिन, कालिका पाठक, उर्मिला थामी, कमला बस्नेत, शान्तिकुमारी तामाङ, गायत्री आचार्य र गोमा केसी चयन हुनुभएको छ ।

बाकी रहेको खुल्ला तर्फको पाँच जना पनि सहमतिको प्रयास भइरहेको छ। आज सार्वजनिक सुची अनुसार नेकपा एमाले दोलखामा १५ हजार पाँच सय २३ जना मतदाता रहेका छन । जसअनुसार भूगोल ९, महिला ७, खुला ५ र दलित दुई गरी २३ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । एमाले महाधिवेशनमा दोलखाबाट चार जना पदेन प्रतिनिधि हुनेछन । केन्द्रीय कमिटी सदस्य राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रहने प्रावधान अनुसार आनन्द पोखरेल, पार्वत गुरुङ, ईश्वरी रिजाल र रचना खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुनेछ ।