कपिलवस्तु, कात्तिक २५ । रक्सीको नशामा होहल्ला गर्ने नेपाली कांग्रेस विजयनगर गाउँ समिति सभापति जानकीप्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको छ । विजयनगर गाउँपालिका ६ खरेनी चोकमा यादवले स्थानीयसँग झगडा गरेको प्रहरीले जनाएको छ ।
पदको धम्की दिँदै झगडा गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार राति ९ बजे तिर प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगेपछि ड्युटीमा खटिएका प्रहरीलाई समेत यादवले अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । यादवले प्रहरी निरीक्षक रणबहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागेपछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको प्रहरीले जनाएको छ ।
प्रहरीले राजनीतिक दबाबका कारण यादवलाई एक घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो । यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गर्नुभएको छ । पक्राउ परेका यादव नेपाली कांग्रेसको असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी हुनुभएको थियो । उहाँ गौतम बुद्ध साझेदारी वनका अध्यक्षसमेत हुनुहुन्छ । प्रहरीस्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणको ठाडो आदेशमा यादवलाई नियन्त्रणमा लिएको एक घण्टा नबित्दै प्रहरीले छाडेको हो ।













प्रतिक्रिया दिनुहोस्