जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार ०९:२७

प्रधानन्यायाधीशलाई सर्वोच्चको गेटमै रोक्ने बारको घोषणापछि सुरक्षा व्यवस्था कडा


काठमाडौं, कात्तिक २६ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो । सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरी सुरक्षा सतर्कता बढाइएको बताउनु भयो । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो । हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ ।

बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो । शुक्रबार बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बार महासचिव लीलामणि पौडेलले बताउनु भयो । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान गरिसकेको छ ।