जनता टाइम्स

१ भाद्र २०७५, शुक्रबार ०७:०८

जटिल बन्दै उपत्यकाको फोहोर व्यवस्थापन, सिसडोल अव ३ महिना


सरकारले फोहोर व्यवस्थापनमा ध्यान दिएन भने अवको ३ महिनापछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने भएको छ । नेपालको संविधान २०७२ अनुसार स्थानीय तहलाई फोहोर व्यवस्थापन गर्ने अधिकार दिएपनि केन्द्रीय सरकारले बजेट उपलब्ध नगराउदा फोहोर व्यवस्थापन गर्ने काम विकराल बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।

उपत्यकाका तीन सहित ६ जिल्लाका २२ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने थलो सिसडोल ल्याण्डफिल साइट भरिएको छ । लगातारको वर्षाको कारण फोहोर व्यवस्थापन गर्न कठिन बन्दै गएको छ । सिसडोलमा फोहोर खसाल्न गएका सवारी साधन घण्टौं लाइन बस्न बाध्य हुने गरेका छन् ।

कतिपय सवारी चालक त दुई दिनसम्म सिसडोलमै बसेर एक ट्रिप फोहोर खसालेर फर्कने गरेका छन् । फोहोरको थुप्रोमा निर्माण गरेको हिलाम्य बाटो पार गरी फोहोर व्यवस्थापन गर्नुपर्ने भएकोले दिनहुजस्तो समस्या आउने गरेको छ । काठमाडौ महानगरपालिका एक्लैले सिसडोल ल्याण्डफिलका लागि दैनिक १ लाख रुपिया सिसडोलमा खर्च गर्ने गरेको छ ।