जनता टाइम्स

२७ कार्तिक २०७८, शनिबार ०९:०४

उच्च समझदारी अपनाउँदै महाधिवेशन प्रतिनिधि छनोट गर्न एमाले अध्यक्ष ओलीको आह्वान (भिडियोसहित)


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारी अपनाउँदै महाधिवेशन प्रतिनिधि चयन गर्न आह्वान गर्नुभएको छ । चितवनमा हुन गइरहेको १० औं महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको सन्दर्भमा भिडियो सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो ।

एमालले संगठित सदस्य संख्याका आधारमा देशभर आज एकै दिन महाधिवेशन प्रतिनिधिहरू चयन गर्न लागेको हो । आज चयन भएका प्रतिनिधिहरुले नै महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् । प्रतिनिधि छनोटको सन्दर्भमा अध्यक्ष ओलीले उच्च समझदारीमा गर्न आह्वन गर्नुभएको हो । शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारीसमेत भएको बताउनु भएको छ ।

‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देशैभर एकै दिन १९९९ भन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ,’ ओलीले भन्नुभएको छ, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीकोरूपमा मात्रै होइन प्रक्रिया र पद्धतिकारूपमा पनि बुझ्दछौं।’