जनता टाइम्स

२८ कार्तिक २०७८, आईतवार १८:५४

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा वडाध्यक्षसँग पराजीत भए प्रदेश सांसद


काठमाडौं, कात्तिक २८ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन । झापा निर्वाचन क्षेत्र नम्बर–४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहनुभएका पूर्वमन्त्री हिरा थापा पराजित हुनुभएको हो ।

उहाँी १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री हुनुहुन्छ । थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराउनु भएको हो । श्रेष्ठले भन्दा ७३ मत कम पाउँदा थापा महाधिवेशन प्रतिनिधि बन्नबाट बञ्चित हुनुपरेको हो ।
शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ ।

महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गर्नुभएको छ । उहाँले १७ सय ४ मत पाउनु भयो । यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ ।

यस्तै जिल्ला सचिवालय सदस्य शिवसताक्षीका राधाकृष्ण खनालले १४ सय, कनकाई नगरका खेमनाथ मिश्र १३ सय ४० र शिवसताक्षीका भैरवकुमार श्रेष्ठले १३ सय २ मत पाएर महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।

महिलातर्फ सर्वाधिक मत ल्याएर झापा गाँउपालिकाकी अमृता राई प्रतिनिधि चुनिनु भएको छ । उहाँले २३ सय १४ मत पाउनु भएको हो । राईंले कुल खसेको मतको ७१.०९ प्रतिशत मत पाउनु भयो । यस्तै कनकाई नगरपालिकाकी चम्पादेवी खनालले २२ सय ११ र शिवसताक्षीकी इन्दिरा बस्नेत (भरत) ले १९ सय ३० मत पाएर महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ ।