काठमाडौं, कात्तिक २९ । आफ्नो राजीनामा माग्दै भइरहेको बार एशोसियसनको आन्दोलन र सर्वोच्च अदालतकै केही न्यायाधीशहरूको असहयोगबारे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज पहिलोपटक औपचारिकरूपमा मुख खोल्नुभएको छ । न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै राणाले आज प्रेस विज्ञप्ति जारी गरी विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कतैबाट हुँदा सम्पूर्ण न्यापालिका एकताबद्ध भएर सामना गर्दै आएको स्मरण गराउनु भएको छ ।
‘न्यायपालिकाले सधैँभरि विधिको बाटोमात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासहरू कहिँ कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भइ आवश्यक आत्मावलोकनसहित सामना गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ ।
प्रधानन्यायाधीश राणाले बार एशोसियसनलाई संवादमा आउन आह्वान पनि गर्नुभएको छ । विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो हुने गरेको बिज्ञप्तीमा उल्लेख छ । ‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछु,’ प्रधानन्यायाधीश जवराले भन्नुभएको छ ।
विज्ञप्तिमा प्रधानन्यायाधीशले गत विहीबार सर्वोच्च अदालतमा परिसरमा आयोजित वकिलहरुको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन न्यायपालिका प्रमुखका हैसियतबाट प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
‘नेपाल बार एशोसियसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायतका बार ईकाइहरू न्यायपालिकाको अभिन्न अङ्ग हुन् । वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै रहेको हुँदा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एशोसियसनलाई संवादका लागि आव्हान समेत गर्दछु,’ बिज्ञप्तीमा भनिएको छ । उहाँले न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार एशोसियसन र यसका इकाइहरूबाट पनि अपेक्षा गरिएको भन्दै न्यायको एकै रथका दुई पाङ्ग्राका रूपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मन गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती रहेको बताउनु भएको छ ।
राणाले न्यायपालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहँदा हुने क्षतिले राज्यका अन्य निकायसहित सबैलाई क्षति पुग्ने कुरामा सचेत गराएका छन् ।













प्रतिक्रिया दिनुहोस्