जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार ०९:१७

चीन र अमेरिकाका राष्ट्रपतिबीच वार्ता : यस्तो रहयो सी-बाइडेनको सवाल जबाफ


बेइजिङ, कात्तिक ३० । अमेरिकी राष्ट्रपति जोन बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गर्नुभएको छ ।

भर्चुल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणा राख्नुभएको छ । बाइडेनले सो धारण राख्न नपाउँदै चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजान बेइजिङ तयार रहेको जबाफ दिनुभएको छ ।

बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेर काम गर्नुपर्ने बताउनु भयो । त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै दुबै जनाबीच यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरण गर्नुभएको थियो । जबाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक आपसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताउनु भएको छ । ‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने र स्थिर सम्बन्ध आवश्यक भएको जबाफ दिनुभएको छ । बाइडेनले दुई देशबीच चुनौती खडा भइरहेको बताइरहेका सीले सञ्चार सुधार गरेर ती सबै चुनौती सामना गर्नुपर्ने बताउनु भयो । उहाँहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो ।

एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो । भ्रमणको अमेरिकाले विरोध गरेको थियो । त्यस अगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।