काठमाडौं, ३० कार्तिक । गृहमन्त्री बालकृष्ण खाँडले सर्बोच्च अदालतमा धर्ना दिइरहेका वकिलहरुको आन्दोलनमा वाईसीएलको ठूलो संख्यामा घुसपैठ भएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा गृहमन्त्री खाँडले प्रधानमन्त्रीले आदेश दिए ती वाईसीएलहरु छानीछानी थुनिदिनसक्ने समते बताउनुभएको एक स्रोतले जनाएको छ । आगामी महाधिवेशनबारे तयारी पूरा गर्नका लागि भनेर बोलाइएको केन्द्रीय समितिको बैठकमा देउवा इतरसमूहका नेताहरुले न्यायपालिकाको समस्यामा नेपाली कांग्रेसले सरोकार राख्नुपर्ने र छलफल गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने तर्क समेत गर्नुभएको थियो । बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले निर्धारित एजेण्डाभन्दा न्यायालयको विषयतिर बैठकलाई लैजान केही नेताहरुले प्रयास गरेपछि यो बैठक त्यसका लागि नबोलाएको भन्दै अरु विषयमा चर्चा नगर्न आदेशात्मक शैलीमा जवाफ दिनुभएको थियो ।
उहाँले यो बैठक त्यसका लागि बोलाएको हैन, महाधिवेशनको तयारीका लागि हो भन्दा भन्दै पनि न्यायालयको कुरा उठाएपछि बैठककै देउवा झर्किनुभएको थियो । उहाँले न्यायालयको विषय उठान नै नगर्न भनेपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले सुतुरमुर्गको जस्तो टाउको लुकाएर बस्न कांग्रेसले नहुने र समस्या समाधान गर्न अग्रसर हुनुपर्ने भन्दै देउवाको आलोचना समेत गर्नुभएको थियो । उहाँले आन्दोलन चर्किरहेको कुरा उठाउनुभएको थियो ।
यी सबै कुरा सुनेर बसेका गृहमन्त्री बालकृष्ण खाँडले नेता पौडेललेसमेत वकिलहरुको आन्दोलनको कुरा गरेपछि यसबारे कडा टिप्पणी गर्नुभएको हो । उहाँले वकिलहरुको आन्दोलनबारे टिप्प्णी गर्दै भन्नुभएको थियो , ‘कालोकोटभित्र वाईसीएल पसेका छन् । त्यहाँ आधाभन्दा बढी कालोकोटमा वाईसीएल छन् । प्रधानमन्त्रीज्यूबाट आदेश भयो भने म सबैलाई समातेर को को वास्तविक वकिल हुन् को को कालोकोटको आवरणमा वाईसीएल हुन् छुट्याइदिन्छु ।’ कात्तिक २८ गते आइतवारको बैठकमा गृहमन्त्रीले आन्दोलनरत वकिलको समूहमा माओवादी लडाकू संगठन वाईसीएलको घुसपैठ भएको र वकिलहरुको संख्या न्यूय भएको सन्देश दिन सो कुरा बोल्नुभएको थियो । उहाँको भनाइको आशय वकिलहरुको आन्दोलन माओवादीको उक्साहटमा भएको भन्ने थियो ।
बैठक यसरी विषयान्तर भएपछि गृहमन्त्रीको मागवमोजिम आदेश दिने कुरालाई वेवास्ता गर्दै देउवाले गोजीबाट कागजको चिर्कटो झिकेर बैठकलाई तयारी समितिहरु बनाउनेतर्फ विषयान्तर गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्