जनता टाइम्स

१ भाद्र २०७५, शुक्रबार ०७:०९

युरोप, अमेरिका, जापान, अस्ट्रेलियामा उपहारले बढायो सल्यानी खुकुरीको माग


सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अत्यधिक बढेको छ । सल्यान छोडेर जानेहरूलाई उपहारको रूपमा दिने र जिल्लामा आउने हरेकले लैजाने सल्यानी खुकुरीको माग अत्यधिक बढेपछि पुर्याउनै मुस्किल भएको हो ।

सल्यानी खुकुरी उपहार स्वरूप दिने, घरायसी काममा बढी मात्रामा प्रयोग गर्नेजस्ता कारणले पनि सल्यानी खुकुरीको माग बढ्दै गएको हो । सल्यानी खुकुरी उपहारको रूपमा लिने प्रचलन बढेकोले पुर्याउनै धौधौ छ, ‘खुकुरी उद्यमी विष्णु विश्वकर्माले भने, ‘अहिले त नेपालमा मात्रै नभएर विदेशमा समेत उपहारको रूपमा पठाउने प्रचलन बढेको छ ।’ सल्यानको शारदा नगरपालिका–२ खलंगास्थित विश्वकर्मा टोलमा रहेका १० परिवारमध्ये ६ परिवारले पुख्र्यौली खुकुरी बनाउने पेसा अंगालिरहेका छन् ।

आफूहरूले विभिन्न प्रकारका खुकुरीका साथै खुँडा, चक्कु, चुलेसीलगायतका सामग्रीसमेत बनाउने गरेको स्थानीय जुद्धबहादुर विकले बताए । सशस्त्र द्वन्द्वको समयमा खुकुरी बनाउने पेसा बन्द नै भए पनि शान्ति प्रक्रिया सुरु भएसँगै यो पेसाको पुनः सुरुआत गरिएको उनले बताए । आफूहरूसँग अहिले सल्यानी खुकरी, सिरुपाते, टोरा ओखोला, टोरा दुइचिरा, हवल्दार, क्षेत्री, जिडब्लु खुकुरी, डब्लुडब्लु वान र डब्लुडब्लु टु जस्ता एकदर्जन खुकुरी बनाउने सीप भएको उनले बताए ।