जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १७:४१

एमालेको किल्ला बन्यो बाँके: चर्चित नेता पशुपति मिश्रासहित ४ हजार जना सामुहिक पार्टी प्रवेश


नेपालगञ्ज, मंसिर १ । बाँकेका चर्चित नेता एवं जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्रासहित ४ हजार नेता कार्यकर्ता एमालेमा समाहित हुनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज चर्चित एवं प्रभावशाली नेता मिश्रासहित अब्दूल करिम खा र गिरिजा पाठकको नेतृत्वमा ३ हजार ब ९ सय ९९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।

मिश्रासहितका नेताहरुलाई अध्यक्ष ओलीसहित एमाले लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेल र अन्य नेताहरुले एमालेमा स्वागत गर्नुभयो । एमाले प्रवेशपछि बोल्दै नेता मिश्राले एमालेले मात्रै मुलुकको हित गर्ने तथ्य प्रमाणित भइसकेको कारण आफूहरु सामुहिक रुपमा एमालेमा समाहित भएको बताउनु भयो ।

उहाँले राष्ट्रिय स्वाभिमान र मुलुकको समृद्धिको लागि अडान लिन सक्ने नेता केपी शर्मा ओलीबाट मात्रै मधेशी तथा मुस्लिम समुदायको संरक्षणसम्भव भएकोले आफुहरुले नेकपा एमाले रोजेको घोषणा गर्नुभयो । बाँकेमा अव एमाले पहिलो नम्वरको पार्टीको रुपमा स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तह, प्रदेश र केन्द्रीय निर्वाचन क्षेत्रमा एमालेले जित हासिल गर्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेरल, केन्द्रीय सदस्यहरु लगायतका नेताहरुले संबाृधन गर्नुभएको थियो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले बाँके अव एमालेको किल्लामा परिणत भएको बताउनु भयो ।