जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १९:२६

अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष क्रेम्लेभ नेपालमा


काठमाडौं, मंसिर १ । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ आज नेपाल आउनुभएको छ । उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग भेट गर्नुभएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाउनुभयो । प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी दिनुभयो ।

त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उमारले हिमाल जस्तै नेपाली बक्सिङलाई पनि उचाइमा पुर्याउन सकिने बताउँदै नेपाली बक्सिङको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बक्सिङ संघका अध्यक्ष अवालेले आईबा अध्यक्ष नेपाल आउनु गर्वको विषय भएको बताउँदै नेपाली बक्सिङको अवस्था बुझ्न उहाँलाई अझ सहज हुने सुनाउनुभयो । त्यस्तै नेपाल बक्सिङ संघ र नेपाल ओलम्पिक कमिटीको निमन्त्रणमा नेपाल आउनुभएको उहाँ भोली नै दुबइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।