जनता टाइम्स

१ मंसिर २०७८, बुधबार १९:५२

कांग्रेस अधिवेशनका लागि तीन दिन विद्यालय बन्द गर्न मेयरको उर्दी


बैतडी, मंसिर १ । नेपाली कांग्रेस बैतडीको जिल्ला अधिवेशनका लागि भन्दै दशरथचन्द नगरपालिकाले तीन दिन विद्यालय बन्द निर्देशन दिएको छ । जिल्ला सदरमुकाम आसपासमा रहेका ४ विद्यालयलाई बुधबार पत्राचार गर्दै तीन दिनलाई विद्यालय बन्द गर्न नगरपालिकाले निर्देशन दिएको हो ।

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित पत्रमा नगरपालिकाका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुङ्गा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई छुट्टी दिई भवन र फर्निचर उपलब्ध गराइदिन भनिएको छ । वीरेन्द्र माविका प्राचार्य कैलाश कनौजीयाले विद्यालयलाई पत्र आइसकेपछि विद्यालयले जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएको बताउनु भएको छ ।

उहाँका अनुसार बुधबार ३ बजेतिर पालिकाको स्थानीय बिदामा कटाउने गरी ३ दिन कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द गर्ने भनेर पत्र आएको थियो । कांग्रेस सभापति नरेन्द्रसिंह थापाले पनि मंसिर ४ देखि ८ गतेसम्म हुने क्षेत्र तथा जिल्ला अधिवेशन उद्घाटन तथा निर्वाचन प्रयोजनका लागि आवश्यक भवन तथा फर्निचर उपल्बध गराउन विद्यालयलाई पत्र पठाउनु भएको छ ।