जनता टाइम्स

१ मंसिर २०७८, बुधबार २०:०६

कैलाली–२ मा झपटका मान्छेले गरे भीम रावलकै अपमान, पार्टी अध्यक्षले दिए कार्वाहीको चेतावनी


धनगढी, मंसिर १ । कैलाली क्षेत्रनम्बर २ मा एमाले उपाध्यक्ष भीम रावल निकट नेता झपट रावलका कार्यकर्ताले उहाँहरुकै अपमान गरेका छन । सो समुहले छुट्टै महाधिवेशन प्रतिनिधि छनौटको नाटक गरी रावलद्वयको अपमान गरेको हो । भीम रावल निकटका झपट रावलको निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर २ मा रावल निकटहरूले समानान्तर महाधिवेशन प्रतिनिधि छनौट गरेका हुन् । उनीहरूले यज्ञराज ढुंगाना, मनोज खड्का, सूर्य बहादुर थापा, वीरेन्द्र रावल, भीम कुँवर, रूप रावल, गंगा थापा, वसुन्धरा भण्डारी र ममता रावललाई महाधिवेशन प्रतिनिधि तोकेका छन् ।

कैलाली क्षेत्र नम्बर–२ बाटै मंगलबार एमालेले रतन थापा, डेजि पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमला ओली, टिका थापा, पदम साउँद, गजेन्द्र स्वाँर धरमबहादुर थापा मगरलाई पनि महाधिवेशन प्रतिनिधि छनौट गरेको थियो । रावल निकट एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा महाधिवेशनका प्रत्याशी महादेव बजगाईंले आज बोलाएको भेलाले सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको बताउनु भएको छ । मंसिर १०–१२ गतेसम्म चितवनमा हुन गइरहेको १०‍औं राष्ट्रिय महाधिवेशनमा कैलाली क्षेत्र नम्बर २ बाट ६ पुरुष र तीन महिला गरी जम्मा नौ जना प्रतिनिधि छनोट गरिएको बजगाईंले बताउनु भयो ।

उहाँले मंगलबार एमाले पार्टीले नभई रतन थापाले कम्पनी चलाएझैँ चलाएको भन्दै मंगलबारको भेला आधिकारिक नभएको दाबीसमेत गर्नुभयो । ‘पार्टीको पद्धति अनुसार नभई मंगलबार एकलौटी ढंगले होटेलको कोठामा बसेर आफ्नालाई टिका लगाउँदै महाधिवेशन प्रतिनिधि छानिएको नाटक गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘हामीलाई त्यो मान्य हुँदैन । पार्टीका सबै संगठित सदस्यको बैठक बसाएर हामीले बुधबार महाधिवेशन प्रतिनिधि छानेका छौं ।’

महाधिवेशनका लागि प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउँदै अर्को पक्षले भेला बोलाएपछि एमाले कैलालीका अध्यक्षसमेत रहेका क्षेत्रनम्बर–२ का महाधिवेशन प्रतिनिधि रतन थापाले कारबाहीको चेतावनी दिनुभएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिनुभएको हो । एमाले कैलालीका अध्यक्ष थापाले भने मंगलबार गरिएको प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताउनु भयो । उहाँले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको बताउनु भयो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भन्नुभएको छ, ‘नेकपा एमाले लम्किमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजना गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन् । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन । तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरि उचित कारबाहीको विषय बनाउने छ ।’ त्यस्ता कार्यक्रममा सहभागी नहुन उहाँले पार्टी कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभएको छ । केही अराजक समुहले गरेको यो हर्कत उपाध्यक्ष भीम रावलकै अपमान भएको भन्दै अध्यक्ष थापाले कार्वाहीको चेतावनी दिनुभएको हो ।