जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार ०९:४८

केपी ओलीसँग अध्यक्षमा जो उठ्छ, उसको जमानत जफत हुन्छ : लालबाबु पण्डित


काठमाडौं, मंसिर २ । नेकपा एमालेका नेता लालबावु पण्डितले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी ओलीनै अध्यक्षमा दोहोरिने बताउनुभयो । एमाले महाधिवेशन विशेषमा कुराकानी गर्दै नेता पण्डितले यस पटकको महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा कसैको पनि प्रतिष्पर्धा नहुने बताउनुभएको हो । ओलीनै सर्वसम्मत अध्यक्ष चुनिने उहाँले बताउनुभयो ।

यदि ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न दिन्न भनेर कसैले प्रतिस्पर्धा गर्न खोज्छ भने उसको जमानत जफत हुने पनि पण्डितले जिकिर गर्नुभयो । ओलीसँग प्रतिष्पर्धी बन्न सक्ने ल्याकत नै अहिले अरु कसैमा पनि नरहेको बताउनुभयो । म पनि अध्यक्षमा प्रतिष्पर्धा गर्छु भन्नु क्राइट एरिया पुगेका जो कोहीको अधिकारको कुरा हो भन्न पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ तर जित विल्कुल असम्भव छ पण्डितले भन्नुभयो ।ओलीसँग प्रतिष्पर्धा कसैको भयो भने प्रतिष्पर्धा नै लजाउँने अवस्था आउँन सक्ने उहाँले दावी गर्नुभयो ।

‘हजारसँग सयको प्रतिष्पर्धा भयो भने के मज्जा भयो र त्यस्तै हुन सक्छ’, उहाँले भन्नुभयो । अहिले देश नै दुई ध्रुवमा बाँडिएको भन्दै उहाँले एकातिर एमाले अध्यक्ष केपी ओली अर्कोतिर पाँच दलीय गठबन्धन भएकाले ओलीकै नेतृत्वमा एमाले एकतावद्ध भएर अघि वढ्ने बताउनुभयो । उहाँले एमाले अध्यक्ष ओलीलाई बाघ र गठबन्धनमा रहेका अरु नेतालाई बाँदरसँग तुलना गर्नुभयो । बाँदरहरु मात्रै हुँदा उफ्रीए पनि बाघ आए पछि जसरी भागाभाग गर्छन त्यसै गरि ओलीको अगाडी अरुको हालत त्यस्तै भएको उहाँले बताउनुभयो ।