जनता टाइम्स

२ मंसिर २०७८, बिहीबार १०:१४

महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस उतार्ने एमालेको तयारी, बागमतिका सवै जिल्लालाई तोकियो संख्या


काठमाडौं, मंसिर २ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएको छ । यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् । जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो । महाधिवेशनमा बागमति प्रदेशबाट मात्रै ३ लाख जनता उतार्ने गरी गृहकार्य अघि बढेको छ ।

१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।