जनता टाइम्स

३ मंसिर २०७८, शुक्रबार १५:५७

कांग्रेस अधिवेशन : गुटको दबाबलाई चुनौती दिँदै युवा नेताको उम्मेदवार दर्ता, नाम फिर्ता लिन नेताहरूद्धारा दबाब


कपिलवस्तु, ३ मंसिर । नेपाली कांग्रेसको आज प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत मनोनयन सुरू भएको छ । कपिलवस्तुको छ निर्वाचन क्षेत्रमा आज मनोनयन दर्ता हुँदै छ । सबै क्षेत्रमा संस्थापन र रामचन्द्र पौडेल पक्षको अलग-अलग गुट बनाइ उम्मेदवारी दर्ता भएको छ । अधिवेशनको माहौल सुरू हुँदै फेसबुकमार्फत युवापुस्ताले पनि उम्मेदवार दिने घोषणा गर्नुभएको थियो । तर, गुटको दबाबका कारण युवाहरूले उम्मेदवार दिनबाट रोकिनु परेको छ ।

कपिलवस्तु क्षेत्र नं.२ (क) अन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा एक विद्यार्थी नेता दबाब त्यागेर भए पनि निर्वाचनमा होमिनुभएको छ । नेपाल विद्यार्थी संघ बुद्धभूमि नगर सभापति थानेश्वर अर्याल (अच्युत) ले मनोनयन दर्ता गर्नुभएको हो । निर्वाचन मण्डलका सदस्य कुलानन्द भुसालका अनुसार उहाँले ११ जना प्रतिस्पर्धीसँग सामना गर्नुपर्ने भएको छ ।

प्रदेश अधिवेशन प्रतिनिधिमा खुला तर्फ ७ जनाको मात्र कोटा रहेको छ । कुल १० मध्ये ३ जना महिला भने निर्विरोध निर्वाचित हुनुभएको छ । कुनै प्यानलमा नरही साझा उम्मेदवारको रूपमा नाम दर्ता गराएको अच्युतले बताउनुभयो । उम्मेदवारी घोषणा गरेपछि उहाँलाई पार्टीका नेताहरूले नाम फिर्ता लिन दबाब आएको समर्थक कृष्ण बन्जाडेले बताउनुभयो ।