जनता टाइम्स

४ मंसिर २०७८, शनिबार ०७:४९

माधवले देउवाकै सामू रामचन्द्रलाई सभापति भनेपछि


काठमाडौं । काठमाडौंको मण्डिखाटारमा पतञ्‍जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि हुनुभएको थियो माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुग्नुभएको थियो । काठमाडौं बाहिर जानुपर्ने भएपछि उहाले आयोजकसँग सबैभन्दा पहिले मन्तव्य राख्ने समय माग्नुभयो । पतञ्‍जलिको दुई वटा स्याटेलाइट टिभी उद्घाटन कार्यक्रमका क्रममा बाबा रामदेवले समय दिँदै नेपाललाई पहिले बोल्न आग्रह समेत गर्नुभयो । टीभी च्यानलको उद्घाटनअघि नै छोटो भनाइ राख्नुभएका नेपालले सुरुमै गडबड गर्नुभयो ।

उहाँले बाबा रामदेवबाट सम्बोधन सुरु गरेर आचार्य बालकृष्ण हुँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई आदरणीय भनेर सम्वोधन गर्नुभयो । अध्यक्ष नेपालले त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिनुभयो त्यसपछि उाहले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्बोधन गर्नुभयो । कांग्रेसको १४ औँ अधिवेशनमा देउवालाई विस्थापित गरेर आफू सभापति हुने दौडमा हुनुहुन्छ पौडेल। यस्तोमा नेता नेपालले पौडेललाई सम्बोधनका क्रममा अलमलिन पुगेर ।

‘नेपाली कांग्रेसका सभापति‘ ला, सभापति पो भनेछु’, उहाँ त्यहीँ रोकिए। पौडेलको नाम लिएर सम्बोधन गर्दै गर्दा कांग्रेस सभापति बन्ने दौडमा रहेका विमलेन्द्र निधितर्फ उहाँको ध्यान गयो। त्यसपछि तत्कालै निधिले पनि अलमलिँदै नमस्कार गर्नुभयो । केहीबेरको अलमलपछि फेरि नेपालले सम्बोधन गर्दै अघि बढ्न्भयो। ‘सभापति भनिहालेँ, भविष्यको हो कि हाम्रो रामचन्द्रजी,’ तर नेपालले उक्त सम्बोधन गरिरहँदा प्रधानमन्त्री एवम् सभापति देउवा पनि मञ्चमै हुनुहुन्थ्यो। देउवा फेरि पनि कांग्रेस सभापतिमा दोहोरिने दाउमा हुनुहुन्छ।

यस्तोमा रामचन्द्रलाई अकमकिएर सभापति भनेका नेपालले कुरा मिलाउन थाल्नुभयो । मञ्चको अलिक पर रहेका देउवालाई लक्षित गर्दै नेपालले कुरा मिलाउने शैलीमा भन्नुभयो , ‘प्रधानमन्त्रीलाई चिसो पस्ला, तर केही छैन।’ त्यसपछि मञ्चमै रहेका देउवा मुस्कुराए।