काठमाडौं, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताउनुभएको छ । नेकपा (एमाले) काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल सम्बत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । एमाले नेतृत्वको सरकार विरुद्ध सबै दलहरु लागेर कठपुतली सरकार निर्माण गरेको उहाँले टिप्पणी गर्नुभयो । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उहाँले बताउनुभयो ।
“जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ” एमाले अध्यक्ष ओलीले थप्नुभयो, “अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।”
“सरकार बनाउने थलो संसद हो, सांसदको मतबाट सरकार गठन हुनेगर्छ तर यस पटक अन्तैबाट सरकार गठन भयो, परमादेशले सरकार बन्यो” अध्यक्ष ओलीले भन्नुभयो, “यो भन्दा ठूलो जनताको अपमान के हुन्छ ?, यो सरकारले केही काम गर्नेवाला छैन ।”
मन्त्री बनाउन, यसअघिको सरकारले नियुक्त गरेका राजदूत, कर्मचारी हटाउनमै वर्तमान सरकार व्यस्त रहेकाले जनताको पक्षमा काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । नेकपा (एमाले) विरुद्ध पाँच दलीय गठबबन्धन बनेको भएपनि यस्ता दश वटा दलको गठबन्धन बनेपनि एमालेलाई केही फरक नपर्ने उहाँले बताउनुभयो । “एमाले एक्लै सक्षम छ, आगामी निर्वाचनमा एमाले एक्लै चुनाव लडेर सम्मानजनक बहुमत ल्याएर देखाउँछ” अध्यक्ष ओलीले भन्नुभयो ।
काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदानले सुन्दर र धनी रहेको चर्चा गर्नुभयो । सभ्यता र संस्कृतिको उदगम देश नेपाल भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगम स्थल हो ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्बत् ११४२, छठ, तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले देशको शीर उँचो पार्नेगरी काम गरिरहेको बताउनुभयो । जीवित सम्पदाको संरक्षणमा महानगरले ध्यान दिएको चर्चा गर्नुहुँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई साझा यातायातमा उपत्यकाभरि निःशुल्क यातायातको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । नेपाल सम्बत्को शुरुवातकर्ता शंखधर साख्वा भएपनि उहाँलाई राष्ट्रिय विभूतिकोरुपमा स्थापित एमालेले गरेको बताउनुभयो । २०५५ सालदेखि नेपाल सम्बत्को अवसरमा एमालेले शुभकामना आदानप्रदान गर्दैआएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्