जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १६:३३

ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो


काठमाडौं, ६ मंसिर । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ । तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो ।

आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रि–किक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रि(किकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडरमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट सुन्दर बराबरी गोल फर्काएका थिए । पुलिसविरुद्ध १–० ले पछि परेसँगै पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको आर्मीले गोलपछि पनि लगातार गोलका लागि प्रयास गरेको थियो । सुरूवातमा ठूला मौका सृजना हुन नसके पनि १०औं मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेटमा थिएन ।

१४औं मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरलाई कप्तान भरतले कन्भर्ट गर्न नसक्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो । सुरुवाती २९ मिनेटसम्म आर्मीविरुद्व दबाबमा परेको पुलिसका लागि १८औं मिनेटमा सुमन लामाले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो ।

पुलिसका अन्जन राईले २२औं मिनेटमा आर्मीका मिडफिल्डर सन्तोष तामाङमाथि खराब फाउल गर्दै फ्रि–किक दिएका थिए । तर, जर्ज प्रिन्सले १८ यार्ड बक्स ठिक अगाडिबाट गरेको फितलो प्रहारले पुलिसको डिफेन्सिभ वालसमेत पार गर्न सकेन । आर्मीका सेसेहाङ आङ्देम्बेले ४३औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाएका थिए ।

२०७६ सालमा भएको लिगको अन्तिम संस्करणमा आर्मीले पुलिसविरुद्ध ४–२ को रोमाञ्चक जित निकालेको थियो । त्यो नाटकीय खेलको ७६औं मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको आर्मीले निर्धारित समयको बाँकी १३ मिनेटमा तीन गोल ठोकेको थियो । यद्यपि, यसपालि भने कम आकेको पुलिसविरुद्ध आर्मीले तीन अंक जोड्न सकेन । यद्यपि, पुलिसले भने उपाधि दावेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका मिडफिल्डर सेसेहाङ आङदेम्बे भए ।

शुक्रबारबाट सुरू भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए । यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३–० को फराकिलो नतिजामा पराजित गरेका थियो ।

आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३–२ तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्बलले जावलाखेलमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो । पहिलो चरणको अन्तिम खेलमा आज साविक विजेता मच्छिन्द्र क्बलले न्युरोड टिम (एनआरटी) सँग खेल्ने छ । दशरथ रंगशालामै ४ः ४५ बजे सुरू हुने खेलाबाट मच्छिन्द्र उपाधि रक्षा अभियान सुरू गर्नेछ ।