६ मंसिर २०७८, सोमबार ००:००

कास्कीका गाउँतिर भेटिएको एमाले



महाधिवेशनले अवश्य पनि राजनीतिक प्रशिक्षणलाई आम जनतासम्म लैजान्छ । वडा र पालिका तहका निर्वाचनमा पार्टी अध्यक्षको प्रत्यक्ष सम्बोधन देशभर पुगेको थियो भर्चुअल माध्यमबाट । त्यसले पार्टीको नेतृत्व र आम पार्टी सदस्यका बीच प्रत्यक्ष सम्वाद स्थापित गरेको छ । महाधिवेशनको सफलता निश्चित छ, त्यसले थप्ने उत्साहलाई नयाँ केन्द्रीय कमिटीले तात्तातै वडा र टोलसम्म लाने र राजनीतिक प्रशिक्षणको अभियान चलाउने हो भने तत्काल एमालेको शक्तिलाई कुनैपनि राजनीतिक दलले चुनौती दिन सक्दैन ।

झलक सुवेदी

नेकपा एमालेको दशौं महाधिवेशन भव्यताका साथ सम्पन्न हुने पूर्व सन्ध्यामा म यो लेख लेख्न लागेको छु । देशभरको एमाले पंक्तिमा एकप्रकारको उत्साह र आसा देखिएको छ । अबको एक साता भित्र नयाँ नेतृत्व निर्वाचित गरेर महाधिवेशन सम्पन्न हुनेछ । त्यस पछिको एमाले कस्तो हुनेछ भन्ने एउटा चित्र भने गाँउघरतिर देखिइसकेको प्रतित हुन्छ । गएको असौज र कार्तिक महिनाका धेरैजसो समय मैले कास्कीका गाउँतिर विताएँ । मादी गाउँपालिकाका सबै वडामा पुग्ने अवसर मिलेको थियो । २०५६ पछि त जाँदै नगएको र मसिनोसंग २०४७ मा मात्र घुमेका कतिपय टोलगाउँमा पुग्दा भेटिएको एमालेको यहाँ म छोटो चर्चा गर्ने छु ।

असौज २१ र २२ गते म हाम्रो गाउँपालिकाको सबैभन्दा दुर्गम मानिने वडा नम्वर ८ का पोँसी र पक्र्यु गाँउतिर पुगेको थिएँ । यी गाँउ पहिले एमालेको खासै प्रभावमा थिएनन । काँग्रेस माओवादी हुँदै अहिले गाउँलेहरु एमालेतिर ढल्केको देखिन्थ्यो । २२ गते नागिधारमा हुनलागेको युवासंघको सम्मेलनमा वरपरका वडा र टोलहरुबाट मानिसहरु ह्वार्ह्वार्ती आइरहेका थिए । मैले स्थानीय एमाले, काँग्रेस र भेटिएका माओवादीसंग पनि यो उत्साहका बारेमा बुझ्न खोजेको थिएँ । कतिपय युवाहरु काँग्रेस र माओवादी पार्टी त्यागेर एमालेतिर आएका थिए । एमालेको पुरानो पंक्ति जागेको जस्तो थियो । एक महिना अगाडी भएको काँग्रेसको वडा अधिवेशन र पालिका अधिवेशन पछि एमालेहरुमा एकप्रकारको इष्र्या जागेको रहेछ र ती घरघरबाट निस्केका रहेछन् ।

अर्कोतिर एमाले विभाजनको असर स्थानीय तहमा नभए पनि तिनलाई माधव नेपालहरुले दल विभाजन गरेकोमा चित्त दुःखाई पनि रहेछ । यिनमा पार्टी अध्यक्ष कमरेड केपी ओलीका प्रति एकप्रकारको लगाव र विश्वास पनि रहेछ जसले तिनलाई उत्तेजित पारिरहेको देखिन्थ्यो । पार्टी अध्यक्षका प्रतिको विश्वास र सम्मानको यो स्तर चाहिँ मैले युवा र प्रौढ, नयाँ र पुराना सबै एमालेमा देखें । पढेलेखेको शहरिया युवामा पनि, जसलाई पार्टीसंग वैयक्तिक रुपमा भर पर्नुपर्ने कुनै कारण छैन, भविष्यमा सक्रिय राजनीतिमा आउने सम्भावना पनि छैन, अध्यक्ष ओलीका प्रतिको आस्थाको तहमा देखिएको विश्वास म जस्ता काठमाण्डौको क्रिटिकल माससँग नजिक भएर बसेकाका लागि अनौठो लाग्ने तहमा थियो ।

यसबीचमा कार्तिक ६ गते सबै वडाका अधिवेशनहरु भए । वडाहरुमा चाहिँ १० नम्वर वडामा बाहेक युवाहरुको जर्वजस्त हस्तक्षेप भएको देखियो । मलाई यी युवाहरुले यति सजिलै अघिल्लो पुस्तालाई नै विस्थापित गर्दै आफ्नो वर्चस्व देखाउलान भन्ने लागेको थियो । पालिका अधिवेशनका क्रममा तारकाङमा आयोजित सभामा म पनि उपस्थित थिएँ । हामीले पार्टी निर्माण गर्दाको बखतका कार्यकर्ता र नेताहरुको उपस्थिति राम्रै देखिएपनि युवाहरुको दबाब यता पनि महशुस गर्न सकिन्थ्यो । ५० वर्ष मुनिकाहरु नै अब पार्टी हाँक्ने तहमा पुगेका रहेछन् । यसले पार्टी क्रमशः तल्लो पुस्तामा सर्दै गएको देखाउँथ्यो । युवाहरुको प्रवेशले पार्टीको भविष्यप्रति आशावादी गराउँछ ।

ताङतिङ र तप्राङका पार्टी कार्यकर्ताहरुसँग सम्वाद गर्दा उनीहरुमा स्थानीय अन्तरविरोधहरुको बारेमा चिन्ताबाहेक पार्टीको नेतृत्व र एमालेको भविष्यप्रति आशावाद अचम्मसँग बरकरार देखिन्थ्यो । दल विभाजन र सरकारबाट बहिर्गमन पछि पनि यो प्रकारको उत्साह देखिदा म चाहिँ आफँै छक्क परेको थिएँ । थोरैलाई मात्र पार्टीका बैचारिक पक्षहरुका सम्बन्धमा गहिरो चासो थियो, अलिकति आलोचनात्मक थिए तर, पार्टीका प्रति तिनको भक्ति पनि उत्तिकै बलियो देखिन्थ्यो ।

पोखरा महानगरको निर्वाचनमा अहिलेसम्म नेतृत्वका लागि अविश्वास गरिएका युवाहरुले नै मुख्य पद हासिल गरे । ठिक्क अघिसम्म ७० वर्ष आसपासका दीपक पौडेल महानगर अध्यक्ष थिए । ६० को आसपासका तेजनारायण अधिकारी जो पहिले पोखरा नगर पार्टी कमिटीका प्रमुख पनि थिए, नेतृत्वका लागि दावेदार पनि थिए । तर, ४५ वरपरका युवाहरु दिलिप न्यौपाने अध्यक्ष र जीवन आचार्य सचिव भए । एकप्रकारले पुस्तान्तरणको अवस्थामा लिएर गए । यसले एमालेमा अब २०३६ सालको पुस्ताबाट २०४६ सालको पुस्तातिर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको सन्देश दिन्छ ।

कास्कीमा मात्र हेर्दा देखिने अर्को चित्र पार्टी विभाजनको प्रभाव नदेखिनु पनि हो । विभाजन कास्कीमा पनि भएको छ, एक तहका कार्यकर्ताको एउटा पंक्ति नेकपा (एस)मा लागेको पनि छ । तर एमालेको वृत्तमा भेटिएका नेता कार्यकर्तामा त्यसले कुनै प्रभाव पारेको देखिन्न । अर्थात विभाजनले कास्कीमा एमालेको उपस्थितिमा कुनै तात्विक असर गर्दैन भन्नेमा उनीहरु नचिताउँदो गरी ढुक्क देखिन्छन् । एउटा गम्भीर समस्या भने त्यता भेटिएको एमालेको एउटा पंक्तिमा दलका प्रति भन्दा आफ्नो भविष्य र पोजिशनको सुरक्षाप्रतिको गहिरो चिन्ता रहेको पाइयो । यो चाहिँ मैले सक्रिय राजनीति गर्दाका बखत भरखर देखापरेको रोगको विस्तार मात्र भएको जस्तो लाग्छ ।

युवाहरुको यो उत्साहजनक सहभागिता र आकर्षणमा देखिने अर्को समस्या चाहिँ राजनीतिकरणको अभाव हो । महाधिवेशन प्रतिनिधि चयन कार्यक्रम सकिएको भोलिपल्ट पारिवारिक भेटघाटका लागि रुपा गाउँपालिकाका अध्यक्ष कमरेड नवराज ओझासँगै म उनको गाउँपालिकाका केही वडामा पुगेको थिएँ । एउटा वडामा नेकपा (एमाले)को वडा कमिटिको बैठकमा सहभागी भएर महाधिवेशनका बारेमा केही बोल्ने मौका पनि मिल्यो । वडा सचिवमा एकजना २०–२१ वर्षकी स्नातक तहमा अध्ययनरत युवा कमरेड निर्वाचित हुनु भएको रहेछ । महिला वडा सचिव भएको पनि यहीँ भेटेको थिएँ । मैले वडा कमिटीका अरुसँगै उहाँसँग पनि सम्वाद गरेँ, किन एमाले हुनुभएको, कसरी सक्रिय राजनीतिमा लाग्नुभयो भन्ने जिज्ञासासहित ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा मुश्किलले २० जना पार्टी सदस्य रहेको र काँग्रेसको प्रभाव बलियो भएको उक्त वडामा अहिले ५० भन्दा बढी सदस्य थपिएकोमा उनीहरु उत्साहित थिए । तर वडा सदस्यहरुको राजनीतिक चेतना औसत थियो । एमालेसँग अहिले पनि लोकप्रिय नेतृत्व छ, गन्तव्य निश्चित छ र गतिशील छ । यस्तो दलको नयाँ पुस्तामा राजनीतिक वैचारिक काम सघन रुपमा गरिएन भने त्यसले खास समय पछि पार्टीलाई धमिराले खाए झैं खानसक्छ । अहिले वडा नेतृत्वमा आएको पुस्ता पाँच सात वर्ष पछि जिल्ला नेतृत्वका लागि दावेदार हुन्छ । त्यसले कमसेकम पार्टीको विधान, राजनीतिक कार्यक्रम, सिद्धान्त, माक्र्सवाद, लेनिनवाद, जबज, कम्युनिष्ट पार्टीको इतिहासका बारेमा, नेपालको राजनीतिक इतिहासका सम्बन्धमा पनि जानकारी राख्यो भने मात्र राजनीतिक रुपमा नेतृत्व गर्ने हैसियत राख्छ । अन्यथा यो पैसा खेलाउन सक्ने या कमिसन एजेण्टहरुको राजनीतिक गोटी बन्ने खतरा रहन्छ । यसतिर ध्यान दिइयो र महाधिवेशन पछि युवाहरुलाई राजनीतिक प्रशिक्षण गर्दै अघि बढाइयो भने कमसेकम कास्कीका हकमा स्थानीय निर्वाचनमा अघिल्लो नतिजा जोगाइरहन कुनै महाभारत पर्ने छैन ।

महाधिवेशनका प्रति जता गएपनि उत्साह पाइयो । सबै जागेका छन् र, सबैलाई चितवनसम्म जाने हुटहुटी छ । गाउँगाउँमा आफ्नै खर्च व्यवस्थापनमा बसको व्यवस्था गरिदै छ । एकप्रकारले घोषणा नहुँदै स्थानीय चुनावको माहोल आएजस्तो गरी राजनीतिक बहस आरम्भ भएको, प्रतिस्पर्धाको मनोविज्ञान विकास भएको छ । महाधिवेशनले अवश्य पनि राजनीतिक प्रशिक्षणलाई आम जनतासम्म लैजान्छ । वडा र पालिका तहका निर्वाचनमा पार्टी अध्यक्षको प्रत्यक्ष सम्बोधन देशभर पुगेको थियो भर्चुअल माध्यमबाट । त्यसले पार्टीको नेतृत्व र आम पार्टी सदस्यका बीच प्रत्यक्ष सम्वाद स्थापित गरेको छ । महाधिवेशनको सफलता निश्चित छ, त्यसले थप्ने उत्साहलाई नयाँ केन्द्रीय कमिटीले तात्तातै वडा र टोलसम्म लाने र राजनीतिक प्रशिक्षणको अभियान चलाउने हो भने तत्काल एमालेको शक्तिलाई कुनैपनि राजनीतिक दलले चुनौती दिन सक्दैन ।