जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १७:२८

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०७८’ हुँदै


काठमाडौं, ६ मंसिर । नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लनटेनिस प्रतियोगिता–२०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।प्रतियोगिता आर्मी अफिसर क्लबका दुई कोर्ट र नेपाल लन टेलिस सङ्घको दशरथ रङ्गशालास्थित दुई कोर्टमा सञ्चालन गरिने सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो ।

खुलातर्फ पुरुष सिङ्गल र डबल, महिला सिङ्गल र डबल तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि समूहका सिङ्गल तथा डबल प्रतियोगिता हुनेछन् । मुलुकको टेनिस खेलको विकास र विस्तारमा सहयोग पुर्याउने हेतुले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा नेपाल लनटेनिस सङ्घको प्राविधिक सहयोग रहनेछ । प्रतियोगितामा अन्तर सरकारीतर्फ पुरुष डबल खुला हुनेछ ।

तहगतरुपबाटै प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको प्रतियोगितामा क्लवबाट खेलाडी सहभागी हुनुपर्नेछ । विजेता क्लबलाई नगद पुरस्कार, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा भाग लिने खेलाडीले सिङ्गलतर्फ रु एक हजार ५०० सय र डबलका लागि रु दुई हजार दर्ता शुल्क कायम गरिएको छ । प्रतियोगितामा मेन्स र विमन सिङ्गल्सतर्फ विजयी, रनर अप र सेकेन्ड रनरअपलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्राप्त गर्नेछन् ।

मेन्स र ओमन डबलतर्फ विजयी, रनरअप तथा सेकेन्ड रनरअप हुनेलाई क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार नगदसहितको पुरस्कार प्रदान गरिने छ । भेट्रान्सतर्फ ३५ वर्ष समूहको सिङ्गलतर्फ विजयी, रनरअप र सेकेन्ड रनरअप हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार र रु १५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष ज्योति रानाले ग्राउण्ड र कोर्ट नभएका कारण जताततै खेल्न नमिल्ने भए पनि बच्चादेखि नै धेरै संलग्न हुने खेलका रुपमा टेनिस रहँदै आएको बताउनुभयो ।

महासचिव मनोहरदास मुलले एउटा कोर्ट बनाउन मिलेको जग्गा भएमा डेढ रोपनीमा बन्ने बताउनुभयो । कार्यक्रम चलाउन एउटा मात्र कोर्टबाट कठिन हुनेछ । मुलुकमा ३५/४९ प्रशिक्षक र पाँच/छ सयको व्यावसायिक खेलाडी रहेको जानकारी दिइएको छ । सङ्घका प्रशिक्षक कृष्णराम घलेले सन् १९५५ बाटै टेनिस खेल नेपालमा हुँदै आए तापनि मुलुकका मुख्य-मुख्य सहरमा मात्रै सीमित रहिआएको बताउनुभयो ।

हरेक राष्ट्रिय खेलकूद प्रतियोगितामा टेनिस खेल सधैँजसो समावेश हुँदै आएको छ । गत दक्षिण एशियाली खेलकूद प्रतियोगितामा नेपालले टेनिसतर्फ विमन सिङ्गल र डबलमा तेस्रो स्थानका साथ पदक प्राप्त गरेको थियो । टेनिस खेलको विकासका लागि बालबालिकादेखि नै खेल सिकाउन र निरन्तरता दिन आवश्यक रहेको प्रशिक्षक घलेले जानकारी दिनुभयो । विश्वमा फुटबल र टेनिस नखेल्ने मुलुक नै नरहेको बताइएको छ ।