जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार ११:१५

प्रदेश २ मा एक्कासी हुस्सु र शितलहर


जनकपुर, मंसिर ७ । प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ ।

एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएपछि सर्वसाधारणले यस वर्षको चिसो लाम्मो हुने अनुमान लगाएका छन् ।