जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १२:२९

प्रदेश १ बाटै एक दर्जन नेता पदाधिकारीको आकांक्षी, कस्को के छ तयारी ?


झापा, मंसिर ७ । नेकपा एमालेको दशौं महाधिवेशनमा प्रदेश १ बाट एक दर्जन बढी नेताले पदाधिकारीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । औपचारिक रुपमा उममेद्वारी घोषणा नगरे पनि आफू निकट कार्यकर्तामार्फत नेताहरुले पदाधिकारीको उम्मेद्वार बन्ने योजना सार्वजनिक गरेका हुन ।

नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी र केही केन्द्रीय सदस्यहरूले १० औं महाधिवेशनमा पदाधिकारीमा जाने इच्छा देखाउनेहरूमध्ये दुई जनाले मात्रै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्षमा एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरेले र सचिवमा गुरु बरालले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । एमालेको नेतृत्व केपी शर्मा ओलीले गरिरहनु भएको छ ।

महाधिवेशनबाट उहाँले पुनः नेतृत्व लिने निश्चित छ । १० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने उहाँको योजनामा उपाध्यक्ष भीम रावलले चुनौती दिनुभएको छ । रावलले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । यस्तै एमाले नेता तथा पूर्व सभामुख सुभाष नेम्वाङले वरिष्ठ उपाध्यक्ष बन्ने घोषणा गर्नुभएको छ । इश्वर पोखरेल निर्बिकल्प रुपमा बरिष्ठ उपाध्यक्ष बन्ने कार्यकर्ताको बुझाईबीच उहाँको घोषणाले तरंग ल्याएको छ । इलामका बासिन्दा नेम्वाङले वरिष्ठ उपाध्यक्ष बन्ने बताउनु भएपछि तरंग आएको हो ।

पूर्वमन्त्री लालबाबु पण्डित र एमाले प्रदेश १ अध्यक्ष देवराज घिमिरे उपाध्यक्षमा उम्मेद्वारी दिने बताउनु भएको छ । झापाका घिमिरेले आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । पण्डितले पनि अध्यक्ष र महासचिव बाहेक जुनसुकै पदमा बस्ने भन्दै पदाधिकारीमा उम्मेद्वार बन्ने बताउनु भएको छ । निर्वाचन भए उपाध्यक्षमा चुनाव लडने पण्डितको योजना छ ।

यस्तै प्रदेश १ का दुई पूर्व मुख्यमन्त्री भीम आचार्य र शेरधन राईले सचिवमा चुनाव लडने योजना बनाउनु भएको छ । आचार्य अहिले पनि सचिव नै हुनुहुन्छ । यसैगरी राजेन्द्र गौतम र पर्शुराम मेघी गुरुङले पनि केन्द्रीय सचिवमा उठ्ने बताउनु भएको छ । एमाले केन्द्रीय सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य हिक्मतकुमार कार्की, केन्द्रीय सदस्य गुरु बराल र भानुभक्त ढकाल पनि सचिवको चुनाव लडने योजनामा हुनुहुन्छ ।