जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १५:००

तनहुँ १ मा मौरती र २ मा खनाल विजयी


तनहुँ, ७ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम आउन थालेको छ । तनहुँका दुवै प्रतिनिधिसभा क्षेत्रमा सभापति, सचिव र सहसचिव पदको अन्तिम मत परिणाम आएको छ । तनहुँ १ को सभापतिमा श्यामकुमार मौरती विजयी हुनुभएको छ । निकटम प्रतिस्पर्धी विश्व बाँस्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बन्नुभएको हो ।

४८५ मत प्राप्त गरी मौरती विजयी हुनुभएको हो भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गर्नुभएको छ । मौरती यसअगाडि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो भने बास्तोला जिल्ला सचिव हुनुहुन्थ्यो । निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिनुभएको थियो । बास्तोला पौडेल निकटका नेता भनिए पनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिनुभएको थियो ।

सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित हुनुभएको छ । क्षेत्रीय सचिव पदमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित हुनुभयो । उहाँहरु दुबै जनाले क्रमशः ४६३ र ४५९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गर्नुभयो । युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित हुनुभएको छ । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गर्नुभएको हो । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर १ मा कुल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।

क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित हुनुभएको छ । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मार्नुभएको हो । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गर्नुभएको छ । निर्वाचित खनाल, भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुनुहुन्छ । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी हुनुभएको छ ।

जीवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रीय सचिवमा निर्वाचित हुनुभयो । निकटम प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाउनुभएको छ । सह–सचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित हुनुभएको छ । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो । दुवै क्षेत्रमा सोमबार मतदान भएको हो । सोमबार रातिदेखि सुरु भएको मतगणना अझै पनि जारी छ ।