जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १५:४३

प्रचण्डलाई ओलीको चुनौती : माओवादी अधिवेशन झापा गर्नुस्, कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने ?


काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ । प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नैं नहुने कुरा स्वीकार्य नभएको बताउनुभयो ।

‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नु भएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भन्नुभयो,‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’

कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उहाँको भनाइ छ । ‘मलाई सिध्याउन यही (चितवन) बाटो हिड्नु भयो भनेर आरोप लगाउनु हुन्छ । कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,’ उहाँले थप्नुभयो ।