जनता टाइम्स

७ मंसिर २०७८, मंगलवार १८:४६

नगरप्रमुख व्याञ्जुद्धारा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन


काठमाडौं, ७ मंसिर । काभ्रेको धुलिखेल नगरपालिका–४ मा निर्माण भएको आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवन उद्घाटन भएको छ । नवनिर्मित भवनको नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताउनुभयो ।

नगरपालिकाको रु ३८ लाखको लागतमा दुई तले पक्कि भवन निर्माण भएको हो । प्रमुख व्याञ्जुले सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न समेत अनुरोध गर्नुभएको छ । भवन अभावमा तोकेका सेवा दिन नागरिकलाई समस्या परेको भन्दै अब पूर्वाधार पर्याप्त भएपछि सजिलोसँग सेवा दिन सकिने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो,‘नगरपालिकाले ‘स्वस्थ शहर’ कार्यक्रम सञ्चालन गरिरहेको छ, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको धुलिखेललाई यस कार्यले समग्र स्वास्थ्य प्रणाली सुधारमा कोसेढुंगा सावित हुन्छ ।’

कार्यक्रममा नगर उप–प्रमख बिमला शर्मा, स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँई, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेल, ४ नम्बर वडाका अध्यक्ष रविन्द्र कर्मचार्य, जनप्रतिनिधिलगायत स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।