जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १५:५५

कांग्रेस महाधिवेशन : पाँचथरमा पौडेल समूहको वर्चश्व


पाँचथर, ८ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाँचथरबाट २६ जना महाधिवेशन निर्वाचित हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चश्व कायम गरेको छ । २६ मध्ये करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि पौडेल पक्षमा खुलेका व्यक्ति छन् । कांग्रेसका निर्वाचन अधिकृत मदन खड्काका अनुसार २४ जना महाधिवेशन प्रतिनिधि चुनावबाट र दुई जना निर्विरोध निर्वाचित भएका हुन् ।

जसअनुसार समावेशी आदिवासी जनजाति खुल्लातर्फ दुतबहादुर गुरुङ (डी.बी), हरिराज आङदेम्बे, बमप्रसाद लावती र ताराहाङ तावा निर्वाचित भएका छन् । उहाँहरूमध्ये गुरुङबाहेक सबै पौडेल पक्षका हुन् । यस्तै, समावेशी दलिततर्फ निरबहादुर विश्वकर्मा, विमल धमला निर्वाचित भएका छन् । उहाँहरू भने कुनै पक्षमा खुल्नुभएको छैन ।

समावेशी खसआर्य महिलातर्फ कान्ता रिजाल र पुरुषतर्फ गोपालप्रसाद पोखरेल विजयी हुनुभएको छ । उहाँहरू दुवैजना कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको हुनुहुन्छ । समावेशी आदिवासी जनजाति महिलातर्फ मधु जबेगू, देवीत्राकुमारी आङदेम्बे र आशा आङदेम्बे विजयी हुनुभएको छ । उहाँहरूमध्ये जबेगू पौडेल समूहमा खुल्नुभएको छ भने बाँकी दुई जना हालसम्म कुनै पक्षमा नदेखिए पनि पौडेल समूह नजिक रहेको स्रोतको दाबी छ ।

प्रत्यक्ष महिलातर्फ देशु सुहाङ (तेसमाया), जनिमाया थापा मगर (शेर्मा), कौशिला गुरुङ र गंगामाया थेगिम आङदेम्बे विजयी हुनुभएको छ । उहाँहरूमध्ये गुरुङबाहेक सबै पौडेल पक्षको हुनुहुन्छ । खुलातर्फ निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, निवर्तमान जिल्ला उपसभापति मित्रप्रसाद काफ्ले, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा, नेताहरू पूर्णकुमार तुम्बापो, चन्द्रसुन्दर खेवाङ, छबि बाँस्कोटा, वीरेन्द्रकुमार खड्का, केदारनाथ बाँस्कोटा र गंगाबहादुर आङदेम्बे निर्वाचनमार्फत विजयी हुनुभएको छ ।

खुल्लातर्फ विजयी खेवाङ देउवा पक्षको हुनुहुन्छ भने फिदिम नगर प्रमुख नेम्वाङ र नेता केदारनाथ बाँस्कोटा कांग्रेस नेता शेखर कोइराला निकट हुनुहुन्छ । शिक्षकसमेतरहनुभएको खड्का तथा आङ्देम्बे र तुम्बापो भने अहिलेसम्म खुल्नुभएको छैन । यस्तै, समावेशी अपाङ्गतर्फ नवीन ढुङ्गेल र अल्पसङ्ख्यकतर्फ राजेश पौद्धार निर्विरोध निर्वाचित हुनुभएको छ, उहाँहरु दुवै पौडेल पक्षको हुनुहुन्छ ।