जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १७:०९

महेश बस्नेतको उदघोष : आगामी चुनावमा एमाले दुईतिहाइ-कांग्रेस हाफ, प्रचण्ड–माधवको पार्टी पत्तासाफ


काठमाडौं, मंसिर ८ । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनमा माधव नेपाल र प्रचण्डको पार्टी पत्तासाफ हुने ठोकुवा गर्नुभएको छ । युवा संघले गठन गरेको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो ।

‘अबको चुनावमा एमालेले दुईतिहाइ बहुमत ल्याउँछ, केपी ओली फेरि प्रधानमन्त्री बन्नुहुन्छ,’ बस्नेतले भन्नुभयो, ‘त्यही चुनावबाट कांग्रेस हाफ हुन्छ, प्रचण्ड र माधव नेपालहरु पत्तासाफ हुनेछन ।’ बस्नेतले एमालेमा अहिले निकै धेरै आकर्षण रहेको बताउनु भयो । ‘अहिले एमालेमा आकर्षण छ। कांग्रेस आफैँ टाउको फोडाफोड गरेको छ एमालेलाई के चुनौती दिन्छ ? हाम्रो महाधिवेशन सफल बनाउन र आगामी चुनावमा जिताउन साइबर सर्कलले कुरा बुझेर जानुपर्छ,’ बस्नेतले भन्नुभयो ।

उहाँले शुक्रवारबाट सुरु हुने दशौं महाधिवेशनबाट दुईतिहाइ ल्याउने सन्देश दिने बताउनु भयो । ‘महाधिवेशनमा दुईतिहाइ ल्याउने सन्देश दिँदैछौँ। माधव नेपालहरू बाहिरिँदै एमालेलाई केही घाटा भएको छैन,’ बस्नेतले भन्नुभयो ।