काठमाडौं, ११ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आईतबार आयोजक युएईविरुद्ध खेल्नेछ । नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था हुनेछ । किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ । अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।
यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ । मलेसिया (२अंक), भुटना (२अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्