जनता टाइम्स

१२ मंसिर २०७८, आईतवार १३:१३

ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य


काठमाडौं, १२ मंसिर । चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) ले १२८ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको विशाल योगफल तयार पारेको हो ।

यूएईको विशाल योगफलमा चामनी सेनेभिरात्नाले अर्धशतकसहित सर्वाधिक ५२ रन बनाइन् । ३६ बल खेलेकी चामनीले ७ चौका प्रहार गरेकी थिइन् । यस्तै थीर्थ सतिशाले ४७ रन बनाइन् । अर्धशतक बनाउन ३ रनले चुकेकी सतिशाले ४६ बलमा ३ चौका प्रहार गरेकी थिइन् । यस्तै, कभिशा इगोदगेले २२ रनको योगदान गरिन् । यता, टस जितेर फिल्डिङ गरेको नेपालको लागि कविता कुँवरले दुई विकेट लिइन् ।

सब्नम राई, सीता राना मगर र संगीता राईले एक एक विकेट लिए । निर्णायक खेल ९यही खेल०को विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराउँदा कुवेतलाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यूएईले मलेसियालाई ३० रन, हङकङलाई ११ रन, भुटानलाई ४७ रन र कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।