जनता टाइम्स

१३ मंसिर २०७८, सोमबार १६:२९

प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध, प्रदेश-२ का सबै नौ जना विजयी हुने


काठमाडौं, १३ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनबाट प्रभु साह केन्द्रीय सदस्यमा निर्विरोध हुनुभएको छ । केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचनाअनुसार प्रदेश २ बाट खुलातर्फ पुरुष ६ जना र महिला तीन गरी नौ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा विजयी हुने हुनुभएको हो ।

प्रदेश २ का अन्य नौ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएको हो । प्रदेश-२ बाट पूर्वमाओवादी नेता साहसहित अरविन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन् ।

महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा छन् । यद्यपि, औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ । उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन् भने लेखी केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो ।