जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार ०९:५४

एमाले महाधिवेशन : साढे १६ सयले मतदान गरे, मतदानको समय थप्ने तयारी


काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताउनुभयो ।सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । यसअनुसार मतदान सकिन अझै एक घण्टा लाग्नसक्ने बताइएको छ ।

विद्युतीय मेसिनबाट भइरहेको मतदानमा एकजना करिब आधाघण्टा लाग्ने अनुमान गरिएको थियो । मतदानपछि आजै मतगणना गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।