जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार ११:५४

कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा पाँच जना प्रतिस्पर्धी, सबै देउवा प्यानलका


मोहन जोशी, धनगढी । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । देश संघीय निर्वाचन प्रणालीमा प्रवेश गरेसँगै कांग्रेसले प्रदेशस्तरमा पहिलो पटक अधिवेशन गर्न थालेको हो ।

सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने छ । त्यसका लागि सबै तयारी पूरा भएको कांग्रेस महााधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए । उनका अनुसार आज सुदूरपशिचमका सात पहाडी जिल्लाबाट आउने प्रतिनिधिको रजिष्टेसन सुरु हुने छ। शुक्रबार मनोनय दर्ता, मनोनयन फिर्ता तथा सहमतिका लागि प्रयास गरिने छ । सहमति नभएमा शुक्रबार बिहानबाट मतदान सुरु हुने छ ।

प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन् । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमितिसमेत गठन गरिएको छ ।

प्रदेश सभापतिका लागि पाँच नेताले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दाबेदारी पेस गरेका छन् । उम्मेदवारी पेस गर्ने पाँचै जना कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा समुहका नेता हुन् । प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिमबहादुर रावल, बझाङका अर्जुनजंगबहादुर सिंह, अछामका गोविन्दबहादुर शाह र नेविसंघका पूर्वउपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही छन् ।

दुई पटक कैलालीको पार्टी सभापति भइसकेका मनु आफूलाई प्रदेशको स्वाभाविक दावेदार रहेको बताउनु हुन्छ। विचार र सिद्धान्तका बारेमा प्रशिक्षण सञ्चालन गरेर प्रशिक्षित पार्टी पंक्ति तयार पार्ने लक्ष्य रहेको बताउँदै आएका मनु आफ्नो जीत स्वाभाविक भएको दाबी गरिरहनु भएको छ । यस्तै दुई पटक बझाङ पार्टी सभापति, राज्यमन्त्री र राजदूत भइसकेका सभापतिका अर्का दाबेदार अर्जुनबहादुर सिंहले प्रदेशभर कांग्रेसलाई एकताबद्ध बनाई पहिलो शक्ति बनाउन सभापतिमा दाबी गरेको बताउनु भयो । ‘पार्टीमा मेरो लामो योगदान र संगठन निर्माणमा अनुभव छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले म सक्षम उम्मेदवार हुँ, सबैले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’ मतदातहरूको सल्लाहमा नै चुनाव लड्न लागेको उहाँ बताउनु हुन्छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष भइसकेका डोटीका पुष्ककुमार शाहीले पनि कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा दाबी गर्नुभएको छ । शाहीले सुदूरपश्चिममा सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । अछामबाट दुई पटक सांसद बनेका गोविन्द शाहले पनि प्रदेश सभापतिमा दाबी गर्नुभएको छ । उहाँले कांग्रेसको विचार र सिद्धान्तलाई जनतामाझ पुर्‍याउने र पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिने बताउनु भयो । सबैको सल्लाहमा सभापतिको उम्मेदवारी घोषणा गरेको बताउने शाहले विचार र सिद्धान्तको छलफल सुरु गर्ने र पार्टीमा मूल्यांकनको परिपाटी सुरुआत गर्ने बताउनु भयो । शाह नेपाल सरकारका सञ्चार राज्यमन्त्रीसमेत भइसक्नु भएको छ ।

कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले पनि प्रदेश भापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रावलले आफू सभापति बनेमा कांग्रेसका आमकार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने योजना रहेको बताउनु भयो । कर्मभूमि समाजमार्फत पार्टीका कार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने लक्ष्य रहेको भन्दै उहाँले सांगठनिक रूपमा सशक्त, कार्यकर्तालाई उद्यमशिलतासँग जोड्दै पार्टीलाई सक्रिय बनाउने योजना रहेको बताउनु भयो ।