जनता टाइम्स

१६ मंसिर २०७८, बिहीबार २०:०२

करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने त्रिबिको निर्णयबिरुद्ध मैदानमा उत्रियो अनेरास्वबियू


काठमाडौं, मंसिर १६ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुनिता बरालले करार प्राध्यापकहरुलाई स्वत: स्थायी गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै खुल्ला र पारर्दशी प्रतिस्पर्धाबाट प्राध्यापक छनौट गर्ने प्रकृया शुरु गर्न जोडदार माग गर्नुभएको छ। अध्यक्ष बरालले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो ।

करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय गलत भएको भन्दै अविलम्ब फिर्ता लिन र खुल्ला प्रतिस्पर्धा मार्फत आवश्यक दरबन्दी पदपूर्ति गर्न त्रिभुवन विश्वविद्यालयसँग जोडदार माग अनेरास्ववियुले गरेको छ । त्यस्तै, विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन सबै सरोकारवाला पक्षहरुसँग सहयोगको लागि विज्ञप्तिमार्फत अपिल समेत गरिएको छ ।

देश-विदेशमा रहेका दक्ष जनशक्तिलाई विश्वविद्यालय सेवामा भित्राउने उपाय भनेको नियमित रुपमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा गराउनु नै हो । विभिन्न समयमा आंशिक-करारमा नियुक्त प्राध्यापकको व्यवस्थापन गर्ने नाममा मेरिट र प्रतिस्पर्धा भन्दा बाहिर गएर गरिने कुनै पनि मापदण्ड र विशेष व्यवस्थाको पक्षमा अनेरास्ववियु नरहेको कुरा जानकारी गराउदछौँ विज्ञप्तिमा लेखिएको छ ।

विश्वविद्यालय आफैंमा एक प्राज्ञिक थलो हो । जसका लागि प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा सेवा आयोग मार्फत् खुल्ला प्रतिस्पर्धा गराई प्रतिस्पर्धाबाट उत्कृष्टमध्येबाट उपयुक्त जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने माग अखिलले गरेको छ ।

यस्तै, अध्यक्ष बरालले त्रिविले यस गलत निर्णय नसच्याए चरणवद्द आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर उचो बनाउन विश्वविद्यालयले समय अनुरुप परिवर्तन गर्दै “शैक्षिक एक्सेलेन्ट” केन्द्रको रुपमा विकसित गर्नुपर्दछ भन्ने मान्यतामा अनेरास्ववियु प्रतिवद्ध रहेको कुरा बरालले उल्लेख गर्नुभएको छ ।