जनता टाइम्स

१७ मंसिर २०७८, शुक्रबार १६:१७

माधव नेपालहरु राखेर संसद चल्न नसक्ने अध्यक्ष ओलीको घोषणा


काठमाडौं, मसिर १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने प्रष्ट पार्नुभएको छ । दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि आज पदबहालीकै क्रममा ओलीले संसद बैठक चल्न नसक्ने बताउनु भएको हो ।

अध्यक्ष ओलीले आफूहरुले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनु भयो । ‘संसद किन बोलाइएको हो, सरकारी पक्ष कसरी प्रस्तुत हुन्छ त्यसबाट थाहा होला’ ओलीले भन्नुभयो, ‘हामीले निष्कासन गरेका व्यक्तिहरु संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरु फेरि २८ गते आउँछन् भने त्यो कुरा त फेरि हामीलाई स्वीकार्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमालेविरुद्ध सत्तारुढ गठबन्धनसँग अनुचित सम्बन्ध राखेको बताउनु भयो । सभामुखले अवैध ढंगले आफ्नो पार्टी फुटाएको पनि उहाँले बताउनु भयो । संसदको अघिल्लो अधिवेशन नेकपा एमालेका सांसदले अवरोध गरेको थियो ।

तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।अध्यक्ष ओलीले व्यवस्थापिका सबैतिर समस्या देखिएको भन्दै यसको समाधान ताजा जनादेशबाट मात्र हुने बताउनु भयो । ‘अन्ततोगत्वा निर्वाचनमै जानुपर्छ, ताजा जनादेशमा जानुपर्छ । ताजा जनादेशबाट समस्याको समाधान खोज्नुपर्छ’ उनले भने, ‘हामीलाई विश्वास छ, ताजा जनादेशबाट समस्याको समाधान निस्कन्छ,’ ओलीले भन्नुभयो ।