भक्तपुर, मंसिर १९ । चर्चित मुस्लिम नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमै भेटेर माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित मियाले एमालेमा प्रवेश गर्ने घोषणा गर्नुभएको हो ।
पर्साका एमाले एमाले सचिव टोपबहादुर रायमाझी, नेताहरु राजकुमार गुप्ता, प्रभु हजारा, निर्मला देवकोटा, मनोज गुप्तालगायतका नेताहरु सहित जालिमले हालैमात्र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । मियासहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष ओली पुस पहिलो साता पर्सा जाने कार्यक्रम तय भएको छ । एमाले प्रवेश गर्न लाग्नुभएका मियालाई भारतीय मिडियाले कुनै बेला तारो बनाएको थियो ।
नेपालमा कोभिड महामारी शुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरुलाई आश्रय दिएको र भारतमा घुसपैठा गराउन खोजेको आरोप लगाएका थिए । उहाँलाई भारतविरोधी करार गर्दै भारतीय मिडियाले आफुमाथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाउनु परेको थियो ।

भारतको टिभी ९, न्युज १८, जि न्युज, एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए।भारतीय पक्षले निराधार आरोप लगाएको भन्दै नेपालले आपत्ति जनाएको थियो । तिनै चर्चित नेता मियाँ आफ्नो समर्थक र सुभेच्छुकसहित एमाले प्रवेश गर्न लाग्नुभएको हो ।

माओवादी केन्द्र र प्रचण्डबाट अव मुलुक र कम्युनिष्ट आन्दोलनको हित संभव नरहेको निश्कर्षका साथ उहाँ पर्सा एमालेका नेताहस्को साथमा ओली निवास पुग्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्